सामान्यतया बच्चा जन्मेको १२ – १४ महिनादेखी नै सामान्य बोलीचाली सुरु गर्छन् । प्राय बच्चाहरु २ वर्षको हुँदासम्म दोहोरो कुराकानी गर्न सक्ने हुन्छन् । तर कतिपय बच्चाहरु २ वर्ष पुरा हुँदासम्म तोते बोली पनि समेत बोल्दैनन् । गाउँघरमा यसलाई सामान्य रुपमा लिने तथा उपचारका लागि अग्रसरता नदेखाउने प्रचलन रहेको छ ।
वास्तवमा त्यो गलत हो यदि बच्चा कुनै पनि समस्या नभइकन नै ढिलो बोलेको भए त्यसले कुनै असर नगर्ला तर बच्चामा समस्या भएको कारण ढिलो बोलेको भए त्यसले समस्या ल्याउन सक्छ ।यस्तो अवस्थामा बच्चाको उपचार पाँच वर्षभन्दा अगाडि नै गर्नुपर्ने हुन्छ ।
बच्चाले अरुले बोलेको सुनेर बोल्ने अभ्यास गर्ने उमेर भनेको पाँच वर्षसम्म मात्रै हो । पाँच वर्ष पुगिसक्दा बच्चाको मस्तिष्कको अरुले बोलेको सुनेर बोल्न सक्ने अंग छिपिसक्ने भएकोले ५ वर्ष भित्र नै त्यस्ता बच्चाको उपचार गराउनु आवश्यक छ ।
नबोल्ने समस्या भई उपचारका लागि आएका बच्चाहरुको विभिन्न परीक्षणको क्रममा रिपोर्ट सामान्य भएको अवस्थामा हामीले त्यस्ता बच्चालाई इस्पिच थेरापी दिने गर्छौं । यदि बच्चाको बोलीमा विकास भएको छैन भने पाँच वर्षसम्म पनि कुरेर बस्नु राम्रो भने होइन । बच्चा २ वर्ष पुग्दासम्म नबोलेमा चिकित्सकको सल्लाह बमोजिम काम गर्नुपर्ने हुन्छ । बच्चामा समस्या भए नभएको समस्याको पहिचानको लागि पनि चिकित्सककोमा ल्याउनुपर्ने हुन्छ।
बच्चा नबोल्नुका कारणहरु
यदि कसैको बच्चा ३ वर्षको भइसक्यो तर बोल्दैन भने त्यस्ता बच्चालाई पछि बोल्छ भनेर राख्नुभन्दा उपचारमा ल्याउन आवश्यक छ ।
कुनै कारणबिना नै बच्चा नबोलेको भए त्यसले खासै असर नगर्ला तर उपचार पश्चात् नबोल्नुको कारण पत्ता लागेमा त्यसको उपचार गराउनु आवश्यक छ । बच्चा नबोल्नुको मुख्यतया दुई कारणहरु हुन्छ एक बच्चाले सुन्दैन अर्को बच्चाले सुनेर पनि बोल्दैन ।
कतिपय बच्चाहरुको असामान्य प्रकारको सुनाइ हुन्छ । त्यस्ता बच्चाहरु बोल्दैनन् । त्यस्तो समस्या भएका बच्चाहरुको सुनाई परीक्षण गर्नुपर्ने हुन्छ । यदि बच्चाले नसुनेका कारण बोलेको छैन भने बच्चाको कानको विभिन्न प्रकारको परीक्षण गरी समस्याको पहिचान गरेर उपचार गर्नुपर्ने हुन्छ । यस्ता बच्चाहरुलाई इस्पिच थेरापी पनि दिने गरिन्छ ।
यदि बच्चा सबै सुनेर पनि बोल्दैन भने बच्चा नबोल्नुको कारण पहिचान गर्नुपर्ने हुन्छ । बच्चाहरुले टिभी,मोबाईल लगायत विभिन्न प्रकारका साधनहरुको अत्याधिक प्रयोग गरेको खण्डमा बच्चा सुनेर पनि नबोल्ने समस्या हुन्छ । कोरोना महामारी पछि यस्तो समस्या भएका बच्चाहरुको संख्या बढेको छ ।
पछिल्लो समयमा बच्चाहरुमा हुने विभिन्न प्रकारका रोगहरुको पहिचान भएको छ । जस्तै अटिजम डिजिज् । अटिजम एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर हो। यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन्। यसमा बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको पाइँदैन। यस्तो समस्या भएका बालबालिकाको बोलीको विकास गर्नका लागि विभिन्न प्रकारका थेरापी दिने गरिन्छ ।
कसरी गरिन्छ उपचार ?
सबैभन्दा पहिले बच्चामा के के समस्या छ पहिचान गरिन्छ । समस्याको पहिचान भएपश्चात् साइकोलोजिष्ट तथा चाइल्र्ड साइक्याटिक्सको सल्लाह अनुसार काम गरिन्छ ।
कतै मानसिक समस्याका कारण बच्चा नबोलेको पो हो कि भनी पहिचान गरिन्छ । समस्याको पहिचान भएसँगै कस्तो प्रकारको उपचार आवश्यक छ त्यही अनुसारको उपचार गरिन्छ ।उपचारका क्रममा विभिन्न प्रकारका थेरापीहरुको प्रयोग गरिन्छ ।