काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अहिले नै कोरोनाको तेस्रो लहर सुरु भयो भन्ने अवस्था नरहेको बताएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले नेपालमा अहिले नै कोरोनाको तेस्रो लहर सुरु नभएको बताएकी हुन्।
कतिपय स्वास्थ्य क्षेत्रकै व्यक्तिहरुले पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएकोले कोरोना संक्रमणको तेस्रो लहर सुरु भइसकेको बताएपनि स्वास्थ्य मन्त्रालयको आधिकारिक धारणा आउन बाँकी रहेकाले अहिले नै तेस्रो लहर सुरु भयो भन्ने अवस्था नरहेको प्रवक्ता मिश्रको बताउँछिन् । यद्यपि कोरोना महामारीसँग लड्न स्वास्थ्य मन्त्रालयले तयारी भने गरिराखेको डा.मिश्रको दाबी छ ।
उनी भन्छिन् दोस्रो लहरमा स्वास्थ्यका भौतिक पूर्वाधारहरु तयार गरेका थियौँ । भौतिक पूर्वाधार तथा स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा छ । अस्पतालका आइसोलेशन, बेडको सङ्ख्या, अक्सिजन प्लान्ट, अक्सिजन ट्याङ्क स्थापना भएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सँग जुध्नका लागि आवश्यक तयारी गरिसकेको छ ।
मन्त्रालयका अनुसार कोरोना महामारी भएदेखि नै र्यापिड एक्सन प्लान सुरु गरिएको छ । प्रत्येक पटकको महामारी भिन्नाभिन्नै प्रकारको र्यापिड एक्सन प्लान बनाइने गरेकोले यो पटक बनाइएको एक्सन प्लान छैठौं हो । यस प्लानमा सीमा नाकालाई कसरी व्यवस्थापन गर्ने, अस्पताललाई कसरी व्यवस्थापन गर्ने, अक्सिजनको उपलब्धता हेर्ने, स्थानीय तहसँग होल्डिङ सेन्टर र आइसोलेशन बनाउन कसरी समन्वय गर्ने गरिन्छ ।
यापिड एक्सन प्लान अन्तर्गत सीमा नाकामा कडाइका साथ व्यवस्थापन गर्ने,सीमा नाका हुँदै संक्रमणको आशङ्का गरिएका व्यक्तिलाई तत्काल कोरोना परीक्षण गर्दा पोजेटिभ आएको खण्डमा आइसोलेशनमा राख्ने, खोपको उपलब्धता ,अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिने लगायतका विषयहरु समेटिएको छ ।
सीसीएमसीसीको निर्देशिका तथा अस्पतालमा बिरामीको संख्याका आधारमा लकडाउन हुने भएकोले अहिलेकै अवस्थामा लकडाउन भने हुँदैन । जिल्लामा संक्रमण बढेमा आफ्नो जिल्लामा अवस्था हेरेर लकडाउन गर्ने, कडाइ गर्ने, स्मार्ट लकडाउन गर्ने निर्णय भने हुन सक्ने मिश्र बताउँछन् ।