काठमाडौं । सात विद्यार्थी संगठनहरुले मेडिकल कलेजहरुमा देखिएको समस्या समाधान गर्न गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएका छन्। गृहमन्त्रीलाई भेटेर नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौलगायतका विद्यार्थी संगठनले ध्यानाकर्षण पत्र बुझाएका हुन्।
ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाणले विद्यार्थी संगठनहरूले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजहरूले लिएको शुल्कका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन्। गृहमन्त्री खाणले यस सम्बन्धमा परामर्श लिएर अगाडि बढ्ने बताए। उनले शिक्षा मन्त्रालयमार्फत यो विषय आएमा आफूहरूलाई सहज हुने बताए। उनले शिक्षामन्त्रीलाई पनि ध्यानाकर्षण गराउन समेत विद्यार्थी नेताहरूलाई आग्रह गरे।
‘तपाईहरूले गराएको ध्यानाकर्षणलाई मैले गम्भीरताका लिएको छु। हामी परामर्श लिएर अगाडि बढ्छौँ,’ गृहमन्त्री खाणले भने, ‘शिक्षा मन्त्रालयलाई पनि ध्यानाकर्षण गराउनु भयो र त्यहाँबाट पत्र आयो भन्ने हामीलाई सहज हुन्छ। यही ध्यानाकर्षण शिक्षामन्त्रीलाई गराउनुस् ।’
विद्यार्थी संगठनहरूले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएर ज्याजती गरेको भन्दै छानबिन गरी दोषी भेटिए कारबाही गर्न माग गरेका छन्।