काठमाडौं । चितवन स्थित भरतपुर अस्पतालमा एक सुत्केरी महिलाका मृत्यु ज्यान गएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ८ की ३३ वर्षीया राधिका थापाको ज्यान गएको हो ।
पीडित परिवारले अस्पतालको गम्भीर लापरबाहीले सुत्केरीको भएको गुनासो गरेका छन् । मृतक थापाका दाजु तारा थापाले विहान साढे ८ बजेसम्म ठिकठाक नै रहेकी राधिकाको अस्पतालले सुत्केरी गराउने क्रममा लापरबाही गरेकाले मृत्यु भएको बताए ।
पौष २६ गते दिउँसो १ बजेतिर सुत्केरी व्यथाले च्यापेपछि भरतपुर अस्पताल भर्ना भएकी थापालाई साधारण ढंगले सुत्केरी गराउने भन्दै अस्पतालका डाक्टर र नर्सले २८ गते बिहानसम्म राखेका थिए । भेन्टिलेटरमा राखेको केही समयपछि डाक्टरले राधिकालाई मृत घोषणा गरेका थिए ।
उनको पेटमा साढे तीन किलोको छोरा रहेको मृतकका दाजु ताराले बताए । पौष २४ गते सुत्केरी गराउने मिति नियमित चेकजाँच गर्दै आएका प्रसूति रोग डाक्टर लोकबहादुर सेढाइले दिएका थिए ।
राधिकाका श्रीमान् सुधिर थापा जापानमा छन् । उनी विगत ८ वर्षदेखि जापानमा बस्दै आएका छन् । राधिका भने दशैं अगाडि मात्रै नेपाल आएकी थिइन् । उनकी ६ कक्षामा अध्ययनरत छोरीसमेत छिन् ।
राधिकाले अघिल्लो पटक छोरी साधारण तरिकाले नै जन्माएकी थिइन् । राधिकाको शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । पोष्टमार्टम गर्न परिवारले मानेका छैनन् ।
बुधबार अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीसहित भएको छलफलमा अस्पतालले गल्ती र कमजोरी भएको स्वीकार गरेको मृतकका दाजु ताराले बताए । उनले भरतपुर अस्पतालको प्रसूति विभागमा चरम लापरबाही हुने गरेको बताए ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण पौडेलले सुत्केरी गराउन आएकी राधिकाको मुटुको नशामा एक्कासी रगतको प्रेसर परेर मृत्यु भएको दाबी गरे । डा. पौडेलले राधिकाको उपचारमा अस्पतालको तर्फबाट लापरबाही नगरेको जिकिर गरे ।