यौन उत्तेजनाको शुरुवातदेखि त्यसको अन्त्यसम्मको कुरालाई हेर्दा हाम्रो शरीरमा केही परिवर्तनहरू एक निश्चित प्रकारले भएका देखिन्छन् । सो यौन उत्तेजनाप्रति हाम्रो शरीरले देखाएको प्रतिक्रिया भएर नै यसलाई मानव यौनप्रतिक्रिया चक्र अर्थात् ह्युमन सेक्सुअल रेस्पोन्स साइकल भनिन्छ । यसका ४ चरणहरू एक्साइटमेन्ट फेज, प्लेटो फेज, अग्र्याजम फेज अर्थात् चरमसुखको चरण तथा रिजोलुसन फेज हुन् ।
यदि हामीले मानव यौनप्रतिक्रिया चक्रलाई केलाएर हे¥यौं भने त्यसमा प्राप्त हुने सुखलाई स्वर्गीय सुख भनिन्छ । त्यसैले यसलाई चरमसुख नै नाम दिइएको छ । भनिन्छ, यो मानवले प्राप्त गर्ने सुखहरूमध्ये सबैभन्दा उत्तम सुख हो । त्यसैले यो स्वाभाविक हो कि कुनै पनि व्यक्ति यस्तो सुख प्राप्त गर्न लालायित हुन्छन् । उसले सो सुख पुनः प्राप्त गरेमा उसले सो सुख फेरि पनि प्राप्त गर्ने प्रयास गर्दछ र यसले निरन्तरता पाउँछ ।
यो कसरी सञ्चालित हुन्छ त भन्ने सन्दर्भमा पनि एकपल्ट नियालेर हेरौं । यस्ता प्रक्रियालाई सञ्चालन गर्ने प्रणालीलाई पुरस्कार प्रणाली भनिन्छ । यो प्रणालीले हामीलाई सुख वा आनन्द दिने कुरातिर निरन्तररुपमा आकर्षित गर्दछ । यस्तो निरन्तर आकर्षण खाना, नशालु वस्तुको प्रयोग होस् वा यौनसम्पर्कजस्ता कुरामा लागू हुने गर्दछन् । त्यसै गरी यो प्रणालीले दुःख वा पीडादायक कुराबाट टाढा बस्न लगाउँछ । यस क्रममा हाम्रो मस्तिष्कको विभिन्न भागबाट हुने कार्यको संयोजनको कार्य भने मस्तिष्कको स्ट्रियाटम भन्ने भागले गर्दछ ।
यो प्रक्रियामा डोपामिन भनिने न्यूरो–ट्रान्समिटरको महत्वपूर्ण भूमिका हुन्छ । कुनै आनन्ददायी क्रियाकलापभन्दा पहिले जति बढी मात्रामा डोपामिन मस्तिष्कमा निस्कन्छ त्यति नै बढी आनन्द प्राप्त गर्ने सम्भावना हुन्छ । यसको केही मात्रामा अनुभव भएपछि, मस्तिष्कमा स्मृति (memory) बन्दछ र यही स्मृतिको आधारमा हामीले केही निश्चित क्रियाकलाप आनन्ददायी हुने अपेक्षा गर्दछौं । हामीले प्राप्त गर्ने आनन्द हाम्रो शरीरमा प्राकृतिकरुपमा नै हुने ओपिओइडको कारणले प्राप्त हुन्छ । डोपामिन निस्किएपछि ओपिओइड निस्कन्छन् ।
अब त पक्कै नै बुझ्नुभयो होला कि किन एकपल्ट यौनसम्पर्क गरेपछि फेरि–फेरि यौनसम्पर्क गर्न मन लाग्छ । गहिरिएर हेर्ने हो भने मस्तिष्कको यस्तो पुरस्कार प्रणाली मानवलगायत सबैजसो नै प्राणीमा हुनुले उक्त प्राणीको वंशजलाई निरन्तरता दिन प्रकृतिले नै दिएको वरदान हो भन्न सक्छौं ।
यौन भावनाको व्यवस्थापन
जैविकरुपमा एक किसिमको कुरा भए पनि सामाजिक मूल्य–मान्यता अनि नियमलाई मान्नुको आफ्नै सकारात्मक पक्ष पनि छन् । तपाईं आफैं यस सन्दर्भमा जानकार छु भनेर उल्लेख गर्नुभएको नै छ । तपाईं, तपाईंको केटी साथी अनि दुवैको स्वास्थ्य, अध्ययन तथा वृत्ति विकास सबैलाई ध्यानमा राखेर यौन भावनालाई व्यवस्थापन गर्न सकियो भने भविष्य उज्ज्वल पार्न सहयोगी हुन्छ । अहिलेको सामाजिक नियममा मन लाग्नुको पछिल्तिर मात्रै अन्धो भएर नदौडेर विवेकको प्रयोग गर्नु आवश्यक मानिन्छ । त्यसले यी जैविक प्रक्रियाका बाबजुद पनि यौन भावनाको व्यवस्थापन राम्ररी गर्न आवश्यक छ । (साधना मासिकबाट साभार)