काठमाडौं । विगत केही समययता कोरोना भाइरसबाट संक्रमित हुनेको सँख्या देशब्यापी रुपमा बढ्दो छ । पछिल्लो २४ घण्टाको अवधिमा देशभर तीन हजार पाँच सय जनाभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ५५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको प्रभाव देशब्यापी रुपमा देखिए पनि पाँच जिल्ला झनै उच्च जोखिममा देखिएका छन् ।
बढी जनघनत्व भएका काठमाडौं उपत्यकाका तीन जिल्ला कोरोनाको उच्च जोखिममा रहेका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भुक्तपुर वाहेक मोरङ र कांस्की पनि कोरोनाको उच्च जोखिममा परेका छन् । यी पाँचवटै जिल्लामा हाल कोरोना संक्रमितको सँख्या पाँच सयभन्दा बढी छन् । उपत्यकाका तीन जिल्लामा यसअघि नै पाँच सयभन्दा बढी संक्रमित थिए । तर, बिहीबारदेखि मोरङ र कांस्की पनि यसमा थपिएका हुन् ।
मन्त्रालयका अनुसार बिहीबार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनाको परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टाको अवधिमा देशभर दुई सय ७१ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । सो अवधिमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यसैबीच, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) प्रमुख रामप्रसाद थपलियालाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । उनी नेतृत्वको अघिल्लो बैठकले विद्यालय बन्दलगायत १३ बुँदे सिफारिसका आधारमा सरकारले १५ माघसम्म विद्यालय बन्द गरेको थियो ।
थपलियालाई कोभिड देखिएपछि त्यसयता सीसीएमसीको बैठकसमेत बस्न सकेको छैन । उक्त बैठकमा सहभागीहरू कन्ट्रयाक ट्रेसिङमा छन् । प्रधानमन्त्री कार्यालका सचिव शिशिरकुमार ढुंगाना र काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई यसअघि कोभिड पुष्टि भइसकेको छ ।