काठमाडौं । माघ पहिलो सातादेखि सरकारी कार्यालय, सार्वजनिक स्थानमा कोभिड -१९ विरुद्ध खोप लगाएको प्रमाण देखाउन खोप कार्ड अनिवार्य गरिएको छ।
कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसिसीले सरकारी कार्यालयसहित होटल, रेस्टुराँ, हल, रङ्गशाला, पार्कलगायतमा प्रवेश, विदेश जान खोप कार्ड अनिवार्य गरिनुका साथै खोपको बुस्टर डोज लिनका लागि पनि खोप कार्ड आवश्यक हुन्छ ।कतिपय मानिसले खोप लगाएपनि कार्ड नभएको , वा खोप कार्ड हराएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
खोप कार्ड हराएका तथा केही खोप केन्द्रमा पहिले कार्ड सकिएकाले पाउन नसकेका व्यक्तिहरूले सहजै त्यस्तो कार्ड पाउने जनाइएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालले खोप लगाएपनि कार्ड नपाएका तथा कार्ड हराएका व्यक्तिहरूले आफूले खोप लिएकै स्थानबाट कार्ड प्राप्त गर्न सक्ने जानकारी दिएका हुन् ।
खोप लगाइसकेका व्यक्तिले कार्ड बनाउन खोप लिएकै स्थानमा जानुपर्छु, उनले भने, खोप लगाएको ठाउँमा विवरण हुने भएकाले सहजै कार्ड बन्छ । अन्य ठाउँबाट कार्ड लिन खोज्दा यकिन विवरण नहुने भएकाले आफूले खोप लगाएकै स्थानमा जान उनको आग्रह छ । खोप कार्ड हराएका र कार्ड नभएका व्यक्तिले कार्ड पाउनका लागि खोप नलगाएको भन्दै पुनः खोप नलिन विज्ञहरूले आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाले खोप कार्ड सुरक्षित राख्न र विद्युतीय कार्डका लागि दर्ता गराएर खोप लगाएको प्रमाण सधैँका निम्ति सुरक्षित गर्न आग्रह गरेका छन् । खोप लगाइसकेका व्यक्तिहरूले मन्त्रालयको वेवसाइटमा गएर आफ्नो विवरण भरेर त्यहाँबाट क्यूआर कोडसहितको कार्ड प्राप्त गर्न सक्ने मन्त्रालयले जनाएको छ ।