काठमाडौं । उमेर,बढ्दो प्रदूषण, धुलो, धुँवाका कारण तथा धेरै समयसम्म मोबाइल चलाउने, कम्प्युटरमा लगातार काम गर्ने व्यक्तिलाई आँखाको समस्या हुने सम्भावना बढी हुन्छ ।
यसबाहेक शरीरमा लागेका विभिन्न रोगका कारण पनि आँखामा समस्या हुनसक्छ । शारीरिक रोगले आँखामा असर पार्ने सम्भावना रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालका प्रोफेसर, वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर बद्रीप्रसाद बधु बताउँछन् । समयमा समस्या पत्ता नलगाई उपचार नगरेमा दृृष्टिसमेत गुम्न सक्ने उनको भनाइ छ ।
डा. बधुका अनुसार विभिन्न शारीरिक रोगमध्ये विशेषगरी तीनवटा रोगले आँखामा बढी समस्या निम्त्याउन सक्छ । 'शरीरमा विभिन्न रोग लाग्छन्,' उनले भने, 'तीमध्ये मधुमेह (सुगर), रक्तचाप (प्रेसर) र थाइराइडले आँखामा बढी असर पुर्याउँछ ।' मधुमेहको समस्या भएका बिरामीमा आँखामा समस्या हुने जोखिम धेरै हुन्छ ।
शरीरमा चिनीको मात्रा नियन्त्रण नभएमा आँखा धमिलो हुने, मोतिविन्दुको जोखिम बढ्नेदेखि लिएर डाइबेटिक रेटिनोपेथी हुने हुन्छ । समयमा उपचार नगरेको खण्डमा मधुमेहका कारण दृष्टिविहीन हुने सम्भावना रहेको उनले बताए । अनियन्त्रित रक्तचाप भएमा आँखाभित्र भएका रक्तनलीहरू बन्द हुन्छन्, जसकारण आँखाको पर्दामा असर पर्छ र आँखा नदेख्ने हुनसक्छ ।
यसबाहेक थाइराइडको समस्या भएका बिरामीको आँखामा पनि समस्या हुनसक्छ । त्यसैले मधुमेह, उच्च रक्तचापलगायतका विभिन्न रोग लागेका मानिसले नियमित आँखाको परीक्षण गराउनुपर्ने उनले सुझाएका छन् ।