काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३६ बुँदे आदेश जारी गरेको छ । कोरोना रोकथामका लागि सरकारले जारी गरेको पछिल्लो ३६ बुँदै आदेशलाई आंशिक ‘लकडाउन’ का रुपमा हेरिएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिको अधिकार प्रयोग गरी यस्तो आदेश जारी गरेको हो । आगामी माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाँचघर क्लब, हेल्थ क्लव, पटके हाटबजार, जिम हललगायतका क्षेत्रहरु बन्द गर्ने निर्णय गरिएको जानकारी आइतबार आयोजित पत्रकारसम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले दिए ।
मन्त्री कार्कीका अनुशार, कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो । सरकारले यसअघिको लकडाउनमा जस्तो पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको छैन । तर, पार्टी प्यालेसमा बढिमा ५० जनामात्रै उपस्थित हुन पाइने ब्यवस्था गरेको छ ।
सरकारले आदेशमार्फत सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । गोष्ठी, सेमीनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमद्वारा गर्ने तथा भौतिकरूपमा उपस्थित भई गर्नुपर्ने काम जनस्वास्थ्यका मापदण्ड पालना र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा बढीमा २५ जनामात्र रहने गरी सञ्चालन गर्न अनुमति दिने आदेशमा उल्लेख छ।
यसैगरी सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ क्लब, जीम, स्वीमिङ पुल, फुटसल, हाटबजार र मानिसको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम यही माघ १५ गतेसम्म सञ्चालन गर्न नपाउने निर्णय गरेको छ । आदेशमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टरलगायतका शैक्षिक क्रियाकलाप माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने उल्लेख छ । आदेशमा शैक्षिक क्रियाकलाप र शिक्षण सिकाइका गतिविधि भर्चुअल माध्यमबाट सञ्चालन गर्न भनिएको छ ।
विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सक शिक्षाका सबै किसिमका परीक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ ।
यसैगरी मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थनामात्र गर्ने गराउने आदेशमा उल्लेख छ । सरकारले सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा अन्य प्रकारका पसलमा एकपटकमा २५ जनाभन्दा बढी हुन नहुने गरी आदेश जारी गरेको छ । कुनै पनि सामान अनावश्यक रूपमा छुन नपाइने तथा दुई व्यक्तिका बीचमा कम्तीमा पनि दुई मिटर दूरी कायम गर्न एवं मास्क अनिवार्य, पटकपटक साबुन पानीले हात धुने, सेनिटाइज गरी सञ्चालन गर्न पनि सरकारले भनेको छ । जनस्वस्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित धनी वा सञ्चालकको हुनेछ ।
सरकारले विवाह, व्रतबन्ध, न्वारन र पास्नी जस्ता धार्मिक तथा सांस्कृतिक, सामाजिक कार्यक्रम भौतिक दूरीलगायत जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने भएको छ । रङ्गशालामा दर्शकसहितको खेल आयोजना गर्दा कूल क्षमताको एकतिहाइ मात्र हुने गरी स्वास्थ्य मापदण्डसहित सञ्चालन गर्न पाइने छ । उपस्थित दर्शकमध्ये आयोजनाको खर्चमा एकतिहाइ दर्शकलाई रेण्डम छनौटका आधारमा ए्न्टिजेन परीक्षणको व्यवस्था मिलाउन पर्नेछ ।
माघ ७ गतेपछि त्यस्ता खेलकुदमा खोपका मात्र पूरा गरेकालाई खोप कार्डका आधारमा रङ्गशालामा प्रवेश गर्न दिइने छ । धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, नित्य संस्कारलगायतका अत्यावश्यक परम्परागत धार्मिक एवं सांस्कृतिक क्रियाकलापमा ५० भन्दाबढी व्यक्ति हुन नहुने उल्लेख छ ।