सामान्यतया मस्तिष्कघातलाई स्ट्रोक पनि भन्ने गरिन्छ । यो विभिन्न कारणले हुने गर्छ । नेपालको सन्दर्भमा भन्ने हो भने धेरै जस्तो मस्तिष्कघात सडक दुर्घटनाका कारणले हुने गर्छ ।
त्यस्तै मानिसको शरीरमा रक्तचाप घटबढ हुँदा पनि मस्तिष्कघात समस्या देखा पर्छ । रक्तनलीहरु फुट्दा रक्तस्राव हुनाले पनि मसितष्कघात हुने गर्छ । यसको मुख्य कारण कारण भनेकै उच्च रक्तचाप नै हो । उच्च रक्तचापका कारण टाउकोमा विभिन्न प्रकारका आघात पुग्ने कारणले यस्तो समस्या देखा पर्ने गर्छ ।
सामान्य मानिसमा न्यूरोलोजिकल ज्ञान हराउँदै जानुलाई मस्तिष्कघात भनिन्छ । मानिसमा ज्ञानको मात्रामा १५ हुने गर्छ । यदि कुनै मानिसमा १५ भन्दा तल्लो स्तरमा ज्ञान भयो भने उसलाई स्ट्रोक हुने सम्भावना बढी रहन्छ । मानिसको टाउकोमा रक्तचापको मात्रा बढ्दै जाँदा उसको ज्ञानको मात्रा घट्दै जाने गर्छ । त्यस्तै स्नायुमा चाप पर्दो पनि रक्तचाप घटबढ हुने गर्छ ।
टाउकोमा चोट लाग्दा, रगतसम्बन्धी औषधिको लापारवाही तथा उच्च रक्तचाप, मुटुको समस्या तथा कोलेस्ट्रोल, मधुमेहजस्ता समस्याका कारण पनि मस्तिष्कघात हुनसक्छ । धूमपान तथा अत्यधिक मदिरा सेवन पनि मस्तिष्कघातका कारक तत्व हुन् । यो हाम्रो शरिरको केन्द्रीय नियन्त्रण कक्ष भएकाले मस्तिष्कमा समस्या हुँदा ज्यानै जान सक्छ । समयमा उपचार पाएर ज्यान जोगाउन सकिए पनि शरिरमा अन्य समस्याहरु देखिने सम्भावना अत्यधिक हुन्छन् ।
मस्तिष्कको रक्तनलीमा रक्तचाप उच्च भएमा रक्तनली फुट्ने भएकाले उच्च रक्तचाप भएका व्यक्तिहरुलाई मस्तिष्कघात हुने सम्भावना अत्यधिक हुन्छ । ५० बर्ष उमेर नाघेका व्यक्तिहरु, मधुमेह, उच्च रक्तचाप भएका बिरामीहरुले यी रोगका औषधीहरु प्रयोग नियमित रुपमा नगर्दा, तनाव, चिन्ता बढी लिँदा तथा मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरुमा मस्तिष्कघातको समस्या बढी देखिन्छ ।
के हुन् लक्षण ?
– स्पष्ट बोल्न नसक्ने
– एउटा आँखा धमिलो देखिने वा दृष्टि कमजोर हुने
– अचानक सहनै नसक्ने गरी टाउको दुख्ने
– पसिना आउने, होस हराउने
– अत्यधिक बढी वान्ता हुने
कसरी बच्ने ?
– धूमपान, मदिरासेवनलगायत नशालु पदार्थको सेवन नगर्ने
– नियमित व्यायाम गर्ने
– शरीरको तौललाई सन्तुलनमा राख्ने
– तनाव, चिन्ता नलिने
– बढी मसलायुक्त खाना नखाने