काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासनहरुले निषेधका नयाँ आदेश जारी गरेका छन्। काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा आजदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको हो।
आदेश नमान्ने र त्यसको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई संक्रमक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने छ । माघ मसान्तसम्म सभा, भेला जस्ता भीडभाड हुने कार्यक्रम नगर्न, मठमन्दिर तथा धार्मिकस्थलमा नित्य पूजामात्रै सञ्चालन गर्न, यही माघ १५ गतेसम्म शैक्षिक संस्था भौतिकरूपमा सञ्चालन गर्न नपाइने, पठनपाठन भर्चुअल वा वैकल्पिक शिक्षण विधि अपनाएर गर्नेलगायत बुँदा सो आदेशमा समाहित गरिएको छ ।
यस्तै माघ ७ गतेदेखि जिल्लाका सबै सार्वजनिक निकायमा सेवा लिन खोपको पूर्ण मात्रा लगाएको कार्ड देखाउनुपर्ने, सपिङ मललगायतमा भौतिक दूरी कायम गरी एक पटकमा २५ भन्दा बढी प्रवेश गर्न नपाइने, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसललगायत माघ १५ गतेसम्म बन्द गर्नुपर्ने आदेश जारी गरिएको छ ।