काठमाडौं । पछिल्लो दिनमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागेको छ । कोरोना संक्रमण यही अनुपातमा उकालो लाग्दै जाने हो भने माघको दोस्रो सातादेखी नै दैनिक २२ हजारसम्म नयाँ संक्रमित थपिनसक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको प्रक्षेपण छ ।
डेल्टा भेरियन्टको संक्रमण फैलिएको दोस्रो लहरमा सबभन्दा धेरै २८ वैशाखमा ९ हजार ४८३ जनामा पुष्टि भएको थियो । संक्रमण दर ४४.४९ प्रतिशत थियो । त्यसबेला बेड अभाव, अक्सिजन तथा अन्य व्यवस्थापन राम्रो हुननसक्दा थुपैै व्यक्तिले ज्यान गुमाउनु परेको थियो । जनस्वास्थ्य विज्ञहरूका अनुसार डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कम घातक देखिएको छ । तर डेल्टाभन्दा तीन गुणा बढी रफ्तारमा फैलिने भएकाले छोटो समयमा धेरै मानिस संक्रमित हुन्छन् ।
संक्रमितमध्ये ८५ प्रतिशतलाई सामान्य असर देखिनेछ भने १० प्रतिशत अस्पताल पुग्नुपर्छ, ५ प्रतिशतभन्दा कमलाई आईसीयू तथा भेन्टिलेटर सपोर्ट चाहिन सक्ने मन्त्रालयको विश्लेषण छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेल भन्छन्, ‘ओमिक्रोन भेरियन्ट कम घातक भएकाले कमै संख्यामा आईसीयू तथा भेन्टिलेटरमा जान सक्छन् । त्यसकारण हामीसँग भएका आईसीयू तथा भेन्टिलेटरले धान्न सक्ने अनुमान छ, तर जनरल बेडको अभाव हुने देखिन्छ ।’
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल देशभरमा ८ हजार २०२ वटा आइसोलेसन बेड, ३ हजार ८४६ एचडीयू, २७९७ आईसीयू र १००८ वटा भेन्टिलेटर सहितका बेड छन् ।
यो निजी तथा सरकारी अस्पतालको बेड संख्या हो, जहाँ कोभिडसँगै नन् कोभिडका विरामीहरूको उपचार भइरहेको छ ।तर संक्रमण तीव्र गतिमा फैलिएर दैनिक २० हजार सक्रिय संक्रमित थपिए ७ दिनमै १४ हजार बेड आवश्यकता पर्नसक्ने मन्त्रालयको प्रक्षेपण छ । ‘बेड अभाव भएको अवस्थामा अन्य निजीमा रहेका नन् कोभिड विरामीहरूको व्यवस्थापन गरेर भए पनि सेवा दिने योजना बनाइरहेका छौं’, डा.पोखरेलले भने ।
त्रिवि शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा. निरज बम पनि नन् कोभिड बिरामीले शय्या भरिएको अवस्थामा कोभिडका बिरामीलाई बेड व्यवस्थापन गर्न चुनौती रहेको बताउँछन् । ‘अहिले भर्ना गरेका बिरामीलाई घर पठाउन मिल्ने अवस्था छैन’ डा. बम भन्छन्, ‘त्यसैले अहिले अक्सिजन तथा जटिल खालका संक्रमितलाई मात्रै भर्ना लिएका छौं ।’
सक्रिय संक्रमित कति ?
देशमा सक्रिय संक्रमितको संख्या बढेर ३९ हजार ४४ पुगेको छ। मंगलबार थपिएका १० हजार २५८ संक्रमित समेत गरेर देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म पीसीआर विधिबाट ८ लाख ६८ हजार २१५ तथा एन्टिजेन विधिबाट १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भइसकेको छ।
पछिल्लो २४ घण्टामा थप ५६२ जना संक्रमणमुक्त पनि भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना संक्रमणमुक्त भएका छन्। नेपालमा निको हुने दर ९४.२ प्रतिशत पुगेको छ। पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ६२४ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन्।
आईसीयू र भेन्टिलेटरमा कति ?
सक्रिय संक्रमितमध्ये धेरै जना घरमै एकान्तबास (होम आइसोलेसन) मा छन्। स्वास्थ्यमा समस्या देखिएका केही संक्रमित संस्थागत आइसोलेसनमा छन् भने गम्भीर अवस्था भएकाहरु अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर गरेर २८ जना संक्रमित भेन्टिलेटरमा रहेका छन्। यस्तै, १५१ जना संक्रमित आईसीयूमा छन्। १ हजार २१८ जना संक्रमितहरु संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार ३७ हजार ८२६ जना संक्रमितहरु भने होम आइसोलेसनमा रहेका छन्।
भेन्टिलेटरमा रहेकामध्ये १८ जना बागमती प्रदेशका छन् भने प्रदेश १ का ८ जना र सुदूरपश्चिम प्रदेशका २ जना छन्।