डा.रविन्द्र पाण्डे (जनस्वास्थ्यविज्ञ)
काठमाडौं । नेपालमा फेरि पनि एकपटक कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ ।
प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढिरहेको विवरणहरू आइरहेको बेला कोभिड-१९ भएमा आत्तिनु भन्दा पनि समयमा यसको उपचार गर्नुपर्छ ।कतिपय कोभिडका बिरामीहरू घरमै बसिरहेका छन् । गाह्रो भए के गर्ने ? श्वासप्रस्वासमा समस्या आए के गर्ने ? कस्तो अवस्था आए अस्पताल जाने रु कोरोना भाइरसको सङ्क्रमण जटिल चरणमा जाँदा उच्च ज्वरो आउने वा शरीरमा अक्सिजन कम हुने हुन्छ ।
जसकारण घरमै शरीरको तापक्रम र शरीरमा अक्सिजनको तह कति छ भन्ने कुरा बिरामीहरूले जाँच गर्नुपर्ने हुन्छ । ९८-९९ फरेनहाइटसम्म व्यक्ति अनुसार शरीरको नर्मल तापक्रम हो । थर्ममिटरबाट तापक्रम नाप्दा १०० पुगेमा पारासिटामोलको सेवन गर्न सकिन्छ । शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।
पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नाप्दा ९४ भन्दा तल गएमा घोप्टो परेर सुत्न सल्लाह दिइन्छ । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा दुईवटा, टाउकोमा एउटा र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुतेमा यसले फोक्सोको क्षमता बढाउँछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ । जाँच नगरी घरमा अक्सिजन दिएर बस्नुहुँदैन । अक्सिजनले रोग निको गर्दैन। अक्सिजन कोभिड १९ को उपचार होइन।
धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ। त्यसैले अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा आफूलाई असहज महसुस भएमा घरमा बस्नु हुँदैन।
कोरोना भाइरसको नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउन सक्ने हुँदा नजिकको कोभिड अस्पतालमा गएर जाँच गराउनु उचित हुन्छ।छातीको एक्स-रे वा सिटी स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि (एन्टिभाइरल र एन्टिबायोटिक)को सेवन गर्नुपर्ने हुनसक्छ।
कोभिड निमोनिया भए अस्पताल भर्ना हुनुपर्ने हुनसक्छ। सङ्क्रमणको बेलामा एक रातमा समेत स्वास्थ्य अवस्था क्रिटिकल हुनसक्छ । त्यसैले गाह्रो भएमा भोलि अस्पताल जान्छु भनेर बस्न हुँदैन । अस्पताल प्याक भएपनि त्यहाँ कुनै न कुनै प्रकारको उपचार पाइन्छ।
सङ्क्रमणका कारण गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउन सकिन्छ। अप्रमाणित औषधि सेवन गरेर वा अन्य सङ्क्रमितलाई निको भएको औषधि खाएर समय र स्वास्थ्यलाई नष्ट गर्नुहुँदैन।
शरीरको प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ । त्यस्तै मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक सेवन गर्न सकिन्छ।
बिरामीले भिटामिन सी दुई पटक, जिङ्क दुई पटक, भिटामिन डी हप्ताको एक पटक र आवश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सक्छन्।
घरको खानाबाहेक फलफूल, दूध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त सेवन गर्नुपर्छ। पानीको बाफ लिँदा आराम हुन्छ । बिरामीले रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्सको सेवन गर्नुहुँदैन । हल्का व्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुपर्छ।
आत्तिनु भन्दा पनि आफ्नो मानसिक अवस्थालाई सुदृढ र सबल राखुपर्छ । अनधिकृत समाचारले तनाव बढाउने हुँदा दिनमा एकदेखि दुई पटक मात्र समाचार हेर्न सकिन्छ । सामाजिक सञ्जाल पनि धेरै प्रयोग गर्नु हुँदैन।यसपटकको भेरिएन्ट निकै सङ्क्रामक भएको हुनाले घरमा एकजना सङ्क्रमित भएमा सबैको परीक्षण गराउनुपर्छ।