धनगढी। कोरोनाको तेस्रो लहर सुरु भएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरहरूमा गएका नेपाली दिनहुँ ठूलो संख्यामा नेपाल फर्कन थालेका छन्।
सुदूरपश्चिमका मुख्य दुई सीमानाका कैलालीसँग सीमा जोडिएको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका हुँदै दैनिक हजारभन्दा बढी नेपाल भित्रिने गरेको प्रहरीको तथ्यांक छ । पछिल्लो एक सातामा यी दुबै सीमानाका हुँदै ९ हजार ६ सय ३४ जना नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपी चक्रबहादुर शाहले जानकारी दिए।
उनका अनुसार गौरीफन्टा र गड्डाचौकी नाका हुँदै बिहीबार १ हजार ३ सय ९३ जना, बुधबार १ हजार ४ सय ५४ जना, मंगलबार ९ सय २५, सोमबार १ हजार १ सय ५१, आइतबार १ हजार ७ सय ६, गत शनिबार १ हजार ३ सय ३६ र ३० पुस शुक्रबार १ हजार ६ सय ६९ जना भित्रिएका छन्।
सोही समयमा कामको सिलसिलामै गौरीफन्टा र गड्डाचौकी नाका हुँदै ५ हजार ३ सय ६४ जना बाहिरिएको जनाइएको छ । सीमानाकामा कोरोना महामारीलाई मध्यनजर गर्दै हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिनेहरूको एन्टिजेन बिधिबाट कोरोना परीक्षण गर्ने गरिएको छ । पछिल्लो एक सातामा यी दुबै सीमानाका हुँदै नेपाल भित्रिएका मध्ये ८ हजार १ सय २३ जनाको एन्टिजेन बिधिबाट कोरोना परीक्षण गर्दा १ हजार ४७ जनामा पोजेटिभ देखिएको जनाइएको छ।
गड्डाचौकी नाका हुँदै भित्रिएका एन्टिजेन पोजेटिभ देखिएकाहरूलाई सीमानाकाबाट एम्बुलेन्समार्फत महाकाली अस्पतालमा रहेको आइसोलेसनमा लैजाने गरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए ।कसैले घरमै गएर आइसोलेसन बस्न चाहे तोकिएको मापदण्ड पूरा गरी बस्ने गरी वडा, पालिकाको सिफारिसमा सुरक्षितसाथ होम आइसोलेसनमा पठाउने गरेको उनले बताए । साथै खोप नलगाएकालाई सीमामै खोपसमेत लगाउने गरेको उनको भनाइ छ ।
त्यसैगरी गौरिफन्टा हुँदै भित्रिएका एन्टिजेन पोजेटिभ देखिएकाहरूलाई सीमानाकाबाट एम्बुलेन्समार्फत धनगढी–१५ कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाउने गरेको धनगढी उपमहानगरपालिकाले गौरिफन्टा नाकामा स्थापना गरेको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए।