काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । उक्त प्रणालीका कारण हाल सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू–भागमा सामान्य देखि पूर्णतया बदली ररहेको महाशाखाले जनाएको छ ।
बाँकी प्रदेशका भू–भागमा सामान्य बदली रही सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ । आइतबार (आज) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।
लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने जनाइएको छ । अन्यत्र पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको समेत महाशाखाको भनाइ छ ।
आइतबार (आज) राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाइएको छ ।
बाँकी प्रदेशका पनि केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।