कोरोना संक्रमणको दर केही समयका लागि ओरालो लागेपछि कोरोना संक्रमण सकियो,मान्छेले कोरोनासँग विजय हासिंल गरिसक्यो भन्ने आम मानिसहरुको सोचका कारण जनस्वास्थ्यका मापदण्डको कडा रुपमा पालना भएन । त्यसैले परिमाणले आजकाल कोरोना संक्रमणको दर दैनिक ह्वातै बढेको छ । कोरोना संक्रमणको दर ह्वातै नबढ्दासम्म कमै मानिसहरु मात्रै खोपको पहँुचमा आए ।
कोरोनाको पहिलो र दोस्रो लहर सकिएपछि कोरोनाको नयाँ भेरियन्ट अर्थात् ओमिक्रोनबारे त झनै मानिसले कुनै तयारी नै पाएन । ओमिक्रोनको प्रभाव तीव्र गतिमा फैलिएपछि मात्रै खोपको कभरेज बढाउनेतर्फ हाम्रो ध्यान केन्द्रीत भयो । मान्छेको लापरवाहीका कारण नै ओमिक्रोन यसरी तीव्र गतिमा फैलिएको हो ।
डेल्टा भेरियन्टको संक्रमण फैलिएको दोस्रो लहरमा सबभन्दा धेरै २८ वैशाखमा ९ हजार ४८३ जनामा पुष्टि भएको थियो । संक्रमण दर ४४.४९ प्रतिशत थियो । त्यसबेला बेड अभाव, अक्सिजन तथा अन्य व्यवस्थापन राम्रो हुननसक्दा थुपैै व्यक्तिले ज्यान गुमाउनु परेको थियो ।डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कम घातक देखिएको छ । तर डेल्टाभन्दा तीन गुणा बढी रफ्तारमा फैलिने भएकाले छोटो समयमा धेरै मानिस संक्रमित हुन्छन् ।
दोस्रो लहरले पूर्व तयारी नगर्दा ठूलो क्षति भोग्नुपर्ने रहेछ भन्ने सिकायो। सङ्क्रमण बढ्दा अस्पताल भर्ना हुने बिरामी बढ्ने, अक्सिजन अभाव हुने र बेड नपाउने हुनाले पहिला नै तयारी गर्नुपर्छ भन्ने मनोविज्ञान विकास भएको छ।
सतर्कता अपनाइएन भने ओमिक्रोनले अत्यन्त छिटो फैलने र धेरै क्षति गराउने देखियो। यसबाट बच्न आम नागरिकले जनस्वास्थ्यका मापदण्ड उचित ढङ्गले पालना गर्नैपर्छ। सरकारले धेरै सङ्क्रमण देखिएको ठाउँमा आवतजावत कम गर्ने, समुदाय स्तरमै परीक्षण बढाउने जस्ता काम गर्यो भने सङ्क्रमणको विस्तार रोक्न सकिन्छ। किनकि, समुदाय स्तरमा परीक्षण बढ्यो भने पहिचान भएका सङ्क्रमित छुट्टै बस्ने भएकाले अरूमा सर्ने सम्भावना कम हुन्छ। सङ्क्रमण विस्तारको ‘चेन ब्रेक’ गर्नु अहिलेको मुख्य काम हो।
अर्को, खोपको कभरेजदर बढाउनु नै क्षतिबाट बच्ने प्रमुख अस्त्र हो। खोप लगाएको छैन भने खोप लगाएको व्यक्तिभन्दा सङ्क्रमण हुने सम्भावना १० गुणा बढी, अस्पताल भर्ना हुने सम्भावना १७ गुणा बढी र मृत्यु हुने सम्भावना २० गुणा बढी हुन्छ। त्यसैले खोप नलगाएकाहरू खोप अभियानमा सामेल हुनुपर्छ।