काठमाडौं। नेपालमा कुष्ठरोग निवारणको घोषणा २०६६ मा भएको भएतापनि जिल्ला तथा स्थानीय तहहरुमा भने अझै पनि यो रोगको पूर्णरुपमा निवारण हुन सकेको छैन।
विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई २०१० मा कुष्ठरोग निवारण भएको मुलुक भनी घोषणा गरेको थियो । नेपालमा प्रति १० हजारमा ०.७७ अर्थात् एकभन्दा कम रोगीको संख्या भएका कारण निवारणको घोषणा गरिएको थियो । त्यससमयमा ३ हजार १ सय ४२ जना नयाँ बिरामी थिए ।
नेपाल सरकारले पनि २०२० सम्ममा कुष्ठरोग उन्मुलन नै गर्ने लक्ष्य राखेको थियो। तर, कुष्ठरोग निवारण भएको घोषणा गरेको १२ वर्ष बितिसक्दा कुष्ठरोगीको सङ्ख्या घट्नुको साटो झन् बढ्दै गएको छ। निवारण घोषणा गरेको ११ वर्षपछि कुष्ठरोगीको सङ्ख्या बढेर प्रति १० हजारमा ०.९९ पुगेको छ।
नेपाल सरकारले पनि २०२० सम्ममा नै कुष्ठरोग उन्मुलन नै गर्ने लक्ष्य राखेको थियो । तर, कुष्ठरोग निवारण भएको घोषणा गरेको १२ वर्ष बितिसक्दा कुष्ठरोगीको सङ्ख्या घट्नुको साटो झन् बढ्दै गएको छ। निवारण घोषणा गरेको १२ वर्षपछि कुष्ठरोगीको सङ्ख्या बढेर प्रति १० हजारमा ०.९९ पुगेको छ । दश वर्षको अवधिमा ३५ सय कुष्ठरोगी भेटिएको स्वास्थ्य सेवा विभाग अन्तरगत अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रको तथ्यांकमा उल्लेख छ । हाल २९ सय कुष्ठरोगीले औषधि खाइरहेका छन्।
कुष्ठरोग के हो र यो के कारणबाट हुन्छ ?
कुष्ठरोग आँखाले देख्न नसकिने मायक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो। यो रोगले खास गरेर छाला, स्नायु,नसा मा असर गर्दछ। यो रोग प्राचीन कालदेखि नै मानिससँग परिचित भएपनि सन् १८७३ मा मात्र नर्वेका वैज्ञानिक डा. जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका हुन्।
यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र विस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ। त्यस्तो छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन।
कुष्ठरोग कसरी सर्छ ?
उपचार नगरेको कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ। तर, यो निकै कम सरुवा रोग हो। साधारणतया यो रोग सरेको २ वर्षदेखि ५ वर्षभित्रमा यसका चिह्न र लक्षण देखा पर्न सक्छन्।
कुष्ठरोगको चिह्न र लक्षण
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु शुरूको चिह्न हो।
यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन्। अन्त्यमा अपाङ्गता हुन सक्छ।
स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु आदि।
कुष्ठरोग कति प्रकारका छन् ?
कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ।
– १० बढी किटाणु भएको
– एमबी कुष्ठरोग
– २० कम किटाणु भएको
– पीबी कुष्ठरोग
यसको उपचार बहु औषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहु औषधिको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन।
कुष्ठरोगको उपचार के हो ?
माथि उल्लिखित कुनै पनि चिह्न तथा लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित उपचार गराएमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपले निको हुन्छ र अपाङ्गता हुनबाट बच्न सकिन्छ।
यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन।
कुष्ठरोगको उपचार नगरे के हुन्छ ?
कुष्ठरोगको किटाणुले छाला र खास गरेर हात, खुट्टा र अनुहारका सतहका स्नायुहरूमा असर गर्ने हुँदा समयमा उपचार नगरे मांसपेसी कमजोर हुने, औंला खुम्चने र पछि आपाङ्गता हुन सक्दछ।
परिवार तथा समुदायमा रोग सर्न सक्दछ।
कुष्ठरोगको ओषधि कहाँ पाइन्छ ?
नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीका साथै प्रेषण केन्द्रहरूमा कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ। साथै हाल नेपाल सरकारले उपचार पूरा गरेका तथा विशेष सेवाका लागि अस्पतालमा भर्ना हुँदा यातायात खर्च १ हजार उपलब्ध गराएको छ।
कुष्ठरोग नियन्त्रणमा समुदायको भूमिका
– कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन समुदाय र परिवारका मानिसलाई सही जानकारी दिने।
– कुष्ठरोगका बिरामीलाई स्वास्थ्य सेवा कहाँ पाइन्छ भने सही जानकारी दिई रोग निदान र उपचारमा सहयोग पु¥याउने।
– कुष्ठरोगको शंका लागेका व्यक्तिहरूलाई नजिकको स्वास्थ्य चौकी अस्पताल, स्वास्थ्य केन्द्रमा जान सल्लाह दिने।
– कुष्ठरोगका बिरामी र प्रभावितलाई उनीहरूको परिवार र समाजबाट अपहेलना हुन नदिन समुदायलाई कुष्ठरोग बारेमा तथ्य जानकारी गराई कुष्ठरोगका बिरामीलाई अपहेलना
नगर्न उत्प्रेरित गर्ने।
कुष्ठरोग पनि अरू रोग जस्तै साधारण सरुवा रोग हो, यो रोगले प्रभावित व्यक्ति पनि समाजको नागरिक हो र उनले पनि सम्मानपूर्वक आफ्नो परिवारमा जीवनयापन गर्न पाउनु उसको अधिकार हो।