सिमकोट । हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ। हिमपातले यहाँको जनजीवन थप कष्टकर बनेको छ।
सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा दुई देखि तीन फिटसम्म हिमपात भएको छ। हिमपातले हुम्ला सेताम्य देखिएको छ।
हिमपातसँगै यहाँको तापक्रम माइनसमा झर्दा चिसो अत्याधिक बढेको छ । चिसोले बृद्धबृद्धा, बालबालिका लगायतलाई थप असहज बनाएको छ। हिमपातले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न थप कठिनाई बनाएको छ । हुम्लामा यो वर्ष हालमम्म चौथो पटक हिमपात भएको हो।
उत्तरी हुम्लाको जनजीवन थप कष्टकर
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन थप कष्टकर बनेको छ । यस क्षेत्रमा बाक्लो हिमपात भएको हुँदा यहाँको जनजीवन कष्टकर बनाएको हो ।
हिमपातले पशुचौपायलाई चराउन थप कठिनाइ बनाएको छ । नाम्खाको लिमी, तिल, हाल्जी र जाङ गाउँमा एक सय ५० को हाराहारीमा घर छन् । यहाँ चिसो अत्यधिक हुन्छ । चौँरी, जुमा, झोपा, घोडा र लुलुगाई यहाँका स्थानीयले पाल्ने गर्छन्।
सिमकोटमा एसइई ट्युसन पढ्ने विद्यार्थी थप सकसमा
सदरमुकाम सिमकोटमा एसईईको तयारीका लागि हिउँदे टिउसन पढ्दै आएका विद्यार्थी चिसोले थप मारमा परेका छन्।
बिहानी ट्युसन कक्षा पढ्दै आएका विद्यार्थीलाई समस्या हुने गरेको हो। हिउँदमा विद्यालय बन्द भए पनि एसइई तयारी गरिरहेका विद्यार्थीले ट्युसन पढ्दै आएका छन् ।