कालिकोट । पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीहरुसँग एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा कालिकोटमा क्रियाशिल पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरिएको हो।
स्वागत मन्तब्य राख्दै जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले आर्थिक वर्ष २०७७–०७८ को समिक्षा तथा २०७८–०७९ मा गरिने काम र क्रियाकलापबारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए ।
साथै, महतले कालिकोटको स्वास्थ अवस्थाबारे पत्रकारलाई स्वास्थ्यसम्बन्धी जानकारी गराई समुदायमा सही सूचना तथा सन्देश प्रवाह गरि समुदायमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक रत्नविर सुनारले स्वास्थ्य क्षेत्रका मुख्य चुनौती तथा गत वर्ष यताको प्रगती समीक्षाबारे सहभागीहरुलाई जानकारी गराए । उनले न्यूनतम सेवा मापदण्डको अवस्था, वार्षिक वित्तीय तर्फको प्रगतीलगायत विभिन्न क्रियाकलापबारे जानकारी गराए ।
मेडिकल अधिकृत किरण शाहीले स्वास्थ्य सेवा कार्यालय कालिकोटको भौतिक तथा पूर्वाधार विकास, कर्मचारीहरुको विवरण तथा औजार उपकरणबारे पत्रकारहरुलाई जानकारी गराईन् । जनस्वास्थ्य अधिकृत गौरा घर्तीमगरले हालसम्मको कालिकोटमा कोभिड अवस्थाबारे जानकारी गराउँदै यस जिल्लामा कोरोनाको पहिलो चरणदेखि हालसम्म र गत २४ घण्टासम्म २ हजार ४ सय ४१ जनामा कोरोना संक्रमण देखिएको बताईन् ।
उनका अनुसार पहिलो चरणदेखि गत २४ घण्टासम्म २ हजार २ सय ३० जना निको भएर घर गएका छन् । कालिकोटमा कोभिडका कारण हालसम्म ७ जनाको मुत्यु भएको छ । अस्पताल क्षेत्रमा आईपरेका समस्या र समाधानका विषयमा पत्रकारहरुसँग दोहोरो छलफल र आईपरेका चुनौतीहरुको विषयमा छलफल गरिएको थियो । कार्यक्रमको सञ्चालन हेमराज बमले गरेका थिए ।