कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि मानिसको जनजीवन अस्तव्यस्त बनेको छ । आजभोली देशैभरि गरिएको कोरोना परीक्षणमा करिब आधा जतिलाई कोरोनाको संक्रमण हुने गरेको तथ्यांक छ ।
कोरोनाको तेस्रो लहरमा बढी मात्रामा युवा तथा बालबालिकामा संक्रमणको उच्च जोखिममा रहेको सरोकारवालाहरुले बताउँदै आएका छन् ।
कोरोना संक्रमणका कारण गम्भीर अवस्था सृजना भई अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या भने दोस्रो लहरको तुलनामा कमै छ । यद्यपि कोरोना तथा सिजनल फ्लुका कारण कान्ति बाल अस्पतालमा भर्ना हुने बालबालिकाको संख्या भने बढेको पाइन्छ ।
कोरोनाको तेस्रो लहरले बालबालिकामा पारेको प्रभाव तथा यसको रोकथामका विषयमा कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीसँग गरिएको कुराकानीको अंश प्रस्तुत गरिएको छ ,
नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएपछि बालबालिका त्यसको संक्रमण हुने दर कस्तो छ ?
अघिल्ला लहरको तुलनामा कुरा गर्दा यो लहरमा कान्ति बाल अस्पतालमा बिरामीको चाप बढी देखिएको छ । सिधै अस्पताल आएर भर्ना हुनेको संख्या र अरु अस्पतालबाट रेफर भएर आउनेको संख्या पनि बढेको छ ।
अहिले ओपीडीमा पनि बिरामीको चाप बढेको छ । दोस्रो लहरमा दैनिक औसतमा दुई जनासम्म बिरामी आएको अस्पतालमा अहिले औसतमा १९ देखि २१ जनासम्म बिरामी भर्ना हुने गरेका छन् ।
बालबालिका कोरोना संक्रमणको जोखिममा कसरी छन् ?
नवजात शिशुमा कोरोनाको खासै जोखिम छैन, उनीहरु बरु आफ्नै आमामा हुने संक्रमणको भने जोखिममा छन् । तर खोप नलगाएका बच्चाहरुमा भने बढी जोखिम छ ।
त्यसैले नवजात शिशु भएकी आमालाई संक्रमण छ र अवस्था सामान्य छ भने उनीहरुलाई घरमै सुरक्षित तरिकाले आइसोलेसनमा बस्न सुझाव दिने गरेका छौं । उनीहरुलाई होम आइसोलेसनमा बस्ने र त्यस क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्डको बारेमा पनि जानकारी दिने गर्छौं । साथै, स्वास्थ्यमा समस्या बढी भएमा तुरुन्त अस्पताल जान सुझाव दिने गर्छौं ।
बालबालिकामा कोरोना संक्रमण पश्चात् निको हुने दर कस्तो छ ?
अहिले हामीले ओपीडीमा फिबर क्लिनिक राखेका छौं । ओपीडी जानुपूर्व फिबर क्लिनिकमा ज्वरो नापेर पठाउने गरिन्छ । यसमा संक्रमणको संकेत देखिएको खण्डमा परीक्षण गर्ने गरिन्छ । तर अहिले बच्चामा संक्रमित हुने र निको हुने क्रम पनि बढिरहेको छ ।
सामान्य रुघाखोकी, ज्वरो आउने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, सिजनल रुघाखोकी जस्तो देखिने संकेत पनि देखिन्छ । कतिपयलाई त हामीले स्वास्थ्य स्थिति स्थिर छ भने घरमा नै बस्न र स्वास्थ्य खराब भएमा तुरुन्त अस्पताल आउन सुझाव दिन्छौं । घरमै बस्ने बिरामीमा पनि संक्रमण निको हुने दर राम्रो छ ।
कोरोना संक्रमणको अवस्थामा बालबालिकामा के कस्तो स्वास्थ्य समस्या देखा पर्छ ?
अहिले एक जना बिरामी भेन्टिलेटरमा छन् । उहाँमा मेनिन्जाइटिस भएको देखिन्छ । ती बिरामीमा कोरोनाकै कारण त्यस्तो भएको पाइएको छ ।
भेन्टिलेटरमा रहेका एक बिरामी बाहेक अरु बिरामीमा भने साधारण रुघाखोकी, नाक बन्द हुने, दिसा पातलो आउने, ज्वरो, टाउको दुख्ने जस्ता लक्षण देखिन्छन् ।
संक्रमित आमाले स्तनपान गराइरहेको अवस्थामा बच्चालाई सर्ने डर कतिको हुन्छ ?
हामीले सुत्केरी आमा र बच्चामा कोरोनाको संक्रमणको अवस्थाको बारेमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका चिकित्सकहरुसँग पनि नियमित परामर्श र छलफल गरिरहेका हुन्छौं ।
उहाँहरुल नवजातमा सुत्केरी आमालाई कोरोना पोजिटिभ देखिएको खण्डमा मात्रै जोखिम बढी हुने औंल्याउनुभएको छ । आमा र बच्चाको स्वास्थ्य सामान्य छ भने संक्रमित सुत्केरीलाई पनि घरमै बस्न सुझाव दिने गरिएको छ । घरमा बस्दा पौष्टिक तत्व भएको खानेकुरा खाने र अन्य स्वास्थ्य मापदण्ड पालना गर्न सुझाव दिने गरेका छौं ।
अहिले बच्चाहरुमा कोरोनाका साथ साथै अन्य के कस्ता स्वास्थ्य समस्याहरु देखिएका छन् ?
अहिले अर्काे मुख्य समस्या भनेको रुघाखोकी नै हो । अरु समस्या भएका बिरामीहरु धेरै अस्पताल आउने गरेका छैनन् ।अहिले सिजनल फ्लुको समस्या पनि धेरै बच्चाहरुमा देखिन्छ ।
सिजनल फ्लु र कोरोना संक्रमण भएका बच्चामा देखिने लक्षण उस्तै हुन्छ । कान्ति बाल अस्पताल भएकाले बच्चा मात्रै नभएर अभिभावक पनि सँगै आउने गर्छन् । त्यसैले कसैमा लक्षण मिल्दोजुल्दो समस्या छ भने उसलाई पीसीआर गरेपछि मात्रै पत्ता लगाउने गरिन्छ।