काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम गर्नका लागि यसविरुद्धको खोपलाई महत्तवपूर्ण मानिन्छ।
तर, पछिल्लो समय खोपको पहिलो वा दुवै डोज लगाएका धेरैजसो मानिसहरू सङ्क्रमित भइरहेको हुनाले सङ्क्रमण भएको कति दिनपछि खोप लगाउन सकिन्छ भन्ने धेरैको चासोको विषय रहेको छ।
विज्ञहरूका अनुसार सामान्य अवस्थामा सङ्क्रमण भएको तीनदेखि ६ महिनासम्म कोभिड-१९ विरुद्धको खोप लगाउन पर्दैन। तर, रोग प्रतिरोधी क्षमता कम भएकाहरूले भने सङ्क्रमणमुक्त भएको दुई सातापछि खोप लगाउन मिल्ने बताइएको छ।
सङ्क्रमण भएपछि व्यक्तिको शरीरले भाइरसविरुद्ध प्राकृतिक रूपमा काम गर्ने हुँदा सङ्क्रमण भएको तीनदेखि छ महिनापछि खोप लिन सकिने सङ्क्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी बताउँछन्।
त्यस्तै, सङ्क्रामक रोग विज्ञ डाक्टर अनूप सुवेदीका अनुसार सङ्क्रमण भएको दुई महिनापछि खोप लगाउन सकिन्छ। सङ्क्रमणका कारण एन्टिबडी विकास हुने हुँदा एकदेखि दुई महिनाभित्र फेरि सङ्क्रमण हुने सम्भावना न्युन रहेको उनको भनाइ छ । तर, रोग प्रतिरोधी क्षमता कम भएकाहरूले सङ्क्रमणमुक्त भएको १४ दिनपछि खोप लगाउनुपर्ने उनले बताए।
किमोथेरापी गराइरहेका क्यान्सरका बिरामी, नियमित औषधि सेवन गरिरहेका दीर्घरोगी र ज्येष्ठ नागरिकहरूमा सङ्क्रमणले दिने सुरक्षा कम हुन्छ । यस्ता मानिसमा सङ्क्रमण भए, लक्षण देखिएको १० दिन पूरा भई ज्वरो नभएमा शरीरमा अक्सिजनको मात्रा नघटेमा र लक्षण सुधार भएमा दुई साता कुरेर खोप लगाउँदा हुन्छ, उनले भने।
सङ्क्रमण पुष्टि नभए पनि कोभिडको लक्षणसँग मिल्दोजुल्दो स्वास्थ्यमा समस्या देखिएको अवस्थामा खोप लगाउन नहुने डाक्टर सुवेदीको सुझाव छ । सङ्क्रमितको कन्ट्याक्टमा परेको र लक्षण देखिए पनि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएन भने समेत आफू सङ्क्रमित भएकै सोचेर सावधनाी अपनाउनुका साथै यस्तो अवस्था खोप लगाउनु नहुने बिबिसीमा उल्लेख गरिएको छ।