पाठेघरको नरम मासुहरुबाट निस्केका गाँठाहरु अर्थात् ट्युमरलाई फाइब्रोइट्स भनिन्छ । अध्ययन अनुसार करिब ९० प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा फाइब्रोइट्सको समस्या भोग्ने गरेका छन् ।
महिलाहरुको पाठेघरमा कुनै न कुनै आकारमा यस प्रकारको मासु पलाएकै हुन्छ । यद्यपि कतिपय यस्ता समस्याहरुलाई शल्यक्रियाको आवश्यकता नपर्न पनि सक्छ । आफ्नो स्वास्थ्यबारे चेतनशील भएर स्वास्थ्य परीक्षणका क्रममा आउँदा चिकित्सकले यस्तो समस्याको पहिचान गर्छन् । बेला बेला स्वास्थ्य परीक्षण नगरेको खण्डमा महिलालाई आफ्नो शरीरमा रहेको उक्त समस्याबारे थाहा नै हुँदैन ।
सानो आकारमा रहेको खण्डमा यसले कुनै पनि लक्षण नदेखाउने हुँदा यस्तो समस्या भएका धेरैजसो महिलाहरुले चिकित्सक कहाँ आइपुग्दैनन् । फाइब्रोइट्स किन हुन्छ भन्नेबारे चिकित्सा विज्ञानले अहिलेसम्म कुनै तथ्य पत्ता लगाएको छैन ।
शरीरको जुनुसुकै भागमा रहेको नरम मासुमा फाइब्रोइट्स देखिन सक्छ । तर पाठेघरमा फाइब्रोइट्स भएको खण्डमा भने लक्षण देखिएको खण्डमा तथा नियमित स्वास्थ्य परीक्षणमा आउँदा यो समस्याको पहिचान हुने गर्छ ।
कसरी थाहा पाउने ?
फाइब्रोइट्स भएपछि शरीरमा मुख्यतया दुई प्रकारका लक्षणहरु देखा पर्ने गर्छन् । यदि फाइब्रोइट्स ठूलो आकारको छ भने त्यसले महिलाहरुको पेल्भिक क्याभिटीमा ठाउँ ओगट्छ र त्यहाँ वरपर रहेका अन्य अंगहरुलाई यसले प्रेसर दिन्छ । यसले कुन अंगमा कसरी थिच्छ त्यसैअनुसारको लक्षण महिलाको शरीरमा देखा पर्छ ।
जस्तै पिसाब नलीमा त्यसले थिचेको छ भने महिलाहरुलाई छिटो छिटो पिसाब आएको महसुस हुन्छ । त्यस्तै दिसा आउने अंगतर्फ थिच्यो भने छिटोछिटो दिसा आएको महसुस हुने तथा दिसा गर्नमा अप्ठ्यारो हुने गर्छ ।
यसले महिला पुरुषबीचको सहवासमा पनि पिडा दिने गर्छ । यदि पाठेघरको टुप्पोमा छ भने यसले कुनै पनि लक्षण नदेखाइकन नै ठूलो हुन्छ जब तल्लो पेटबाट माथिल्लो पेटसम्म आइपुग्छ त्यसपछि मात्रै बिरामीलाई यसबारे थाहा हुन्छ ।
कहिले कहिले यो पाठेघरमा रहेको महिनावारी हुने घरमा आउँछ ।यतिबेला यसले महिनावारी हुने ठाउँलाई ठूलो बनाइदिन्छ । यस्तो अवस्थामा महिनावारी हुँदा धेरै पीडा हुने, बढी रक्त्तस्राव हुने, जमेको रगत आउने जस्ता समस्या देखा पर्ने गर्छन् । उपचारका लागि आइपुग्दा कतिपयमा अत्याधिक रक्तस्रावका कारण रक्तअल्पता भइसकेको हुन्छ ।
उपचारविधी
फाइब्रोइट्स उपचारका क्रममा औषधि सेवनबाट यसलाई निको बनाउन सकिदैंन । हालसम्म विकसित चिकित्सा विज्ञानले औषधि सेवनबाट यसलाई निको बनाउन सकेको छैन ।
तर ठाउँ, आकार अनुसार यसको उपचार विधी फरक फरक छ । मानौं पाठेघरको महिनावारी हुने सतहमा सानो फाइब्रोइट्स छ भने त्यसलाई चिकित्सकले क्यामेरा हालेर सामान्य शल्यक्रियाद्वारा निको बनाउने गर्छन् ।
यदि ठूलो फाइब्रोइट्स छ तर महिलाले बच्चाले जन्माएकी छैनन् तर बच्चा पाउन महिला इच्छुक छन् भने पाठेघरमा रक्त प्रवाह गर्ने धमनीमा भएको फाइब्रोइट्सलाई उक्त रक्तप्रवाह गर्ने धमनीलाई बन्द गरेर यसको उपचार गरिन्छ । यो ठूलो प्रविधि हो, यो उपचार विधि खर्चिलो पनि छ । धेरै खिर्चिलो भएका कारण नेपालमा यो प्रविधिको त्यति प्रयोग भने छैन ।
सन्तानको रहर पुगि नसकेका महिलाहरुले फाइब्रोइट्सलाई निकालेर फाल्न सकिन्छ । यो प्रविधि नेपालमा प्रचलित छ । त्यस्तै सन्तानको रहर पुगिसकेका महिलाहरुले फाइब्रोइट्ससहित पाठेघर नै निकालेर फाल्न सकिन्छ, यो पनि नेपालमा प्रचलित प्रविधि हो । यसो गरेमा फाइब्रोइट्सले पुन दुख दिन पाउँदैन ।
रोकथाम
सरसफाई कम ध्यान दिने, असन्तुलित आहार व्यहार गर्ने,धुम्रपान तथा मद्यपान गर्ने महिलाहरुमा यस्तो समस्या बढी आउने गरेको अध्ययनबाट पत्ता लागेको छ । त्यसकारण यस्ता जीवनशैलीलाई हटाउन सकेको खण्डमा यसबाट बच्न सकिन्छ ।