काठमाडौं । तोकिएको समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न १० वटा बिमा कम्पनीहरुलाई बिमा समितिले जरिवाना सहित कारबाही गरेको छ।
बिमा ऐन २०४९ को दफा २५ बमोजिम बिमा कम्पनीहरुले गरेको बिमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समिति समक्ष पेश गर्नुपर्ने व्यवस्था छ।
सो व्यवस्थाको जानी जानी उल्लंगन गरेको भन्दै समितिले बिमा ऐन २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम १० वटा कम्पनीलाई प्रति कम्पनी १० हजार रुपैयाँका दरले जरिवाना तिराईएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन ।
समितिले दि ओेरियन्टल, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बिमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाईफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिामा लाइफ इन्स्योरेन्सलाई सो जरिवना रकम तिराएको हो।
ती कम्पनीहरुले अटेरगरि आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बिमा व्यवसायको लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन् । समितिले बिमा ऐन २०४९ र बिमा नियमावली २०४९ बमोजिम तोकिएको समयसीमाभित्र समितिमा प्रतिवेदन नबुझाएको भन्दै यस्तो कारबाही गर्नुपरेको जनाएको छ ।