काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बुधबार रातिबाट मौसम थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभावले बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आगामी बिहीबारसम्म पनि मौसममा सुधार नआउने महाशाखाले जनाएको छ । बुधबार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
बुधबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मधेश प्रदेशमा पनि आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने छ । बागमती, मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भु–भाग तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ ।
सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थान तथा बागमती प्रदेश र प्रदेश नम्बर १ को उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही भूभागमा मेघ गर्जन र चटयाङ सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।