एजेन्सी। ओमिक्रोनको सब-भेरिएन्ट बीए.२ ओमिक्रोनभन्दा बढी सङ्क्रामक रहेको डेनिस वैज्ञानिकहरूले बताएका छन् ।
सब-भेरिएन्ट बिए.२ को ओमिक्रोनको बिए.१ भन्दा ३३ प्रतिशत बढी सङ्क्रामक रहेको र यसले बुस्टर खोप लिइसकेका मानिसहरूलाई सङ्क्रमित गरिरहेको अध्ययनले देखाएको छ ।
स्टेटन्स सीरम इन्स्टिच्युट, युनिभर्सिटी अफ कोपेनहेगन, स्ट्याटिस्टिक्स डेनमार्क र डेनमार्कको प्राविधिक विश्वविद्यालयका वैज्ञानिकहरूले डिसेम्बर र जनवरीको बीचमा आठ हजार बढी सङ्क्रमितमा अध्ययन गरेका थिए ।
अनुसन्धानमा बिए.२ बाट सङ्क्रमित भएका मानिस बिए.१ बाट सङ्क्रमित भएका बिरामीहरूको तुलनामा ३३ प्रतिशत बढी अरूलाई सङ्क्रमित गर्न सक्षम भएको वैज्ञानिकहरूले पत्ता लगाएका हुन् । अध्ययनका प्रमुख वैज्ञानिक फ्रेडरिक प्लेसनरका अनुसार बिए.२ सबभेरिइन्टको सम्पर्कमा आएमा आगामी सात दिनमा सङ्क्रमण हुने सम्भावना ३९ प्रतिशत हुन्छ ।
तर, बिए.१ को सम्पर्कमा आएमा सङ्क्रमित हुने सम्भावना २९ प्रतिशत हुन्छ । अनुसन्धानले ओमिक्रोनको बिए.१ र बिए.२ सब भेरिएन्टबाट सङ्क्रमणको लागि अस्पतालमा भर्ना हुने जोखिममा कुनै भिन्नता नभएको पनि पत्ता लगेको छ । सब-भेरिएन्ट बिए.२,मा भएका आनुवंशिक विशेषताहरूले ओमिक्रोनको पहिलो सब-भेरिएन्टभन्दा बढी सङ्क्रामक बनाउँछ ।
यसले मानव प्रतिरक्षा प्रणालीलाई सजिलैसँग पराजित गर्न सक्षम छ । जसकारण पूर्ण खोप लगाएका र बुस्टर डोज लगाएका मानिस पनि यसबाट सङ्क्रमित हुन थालेका छन् ।
हालको कोरोना भाइरसविरुद्धको खोप ओमिक्रोनका सब-भेरिएन्टविरुद्ध प्रभावकारी छन् । खोपले हामीलाई गम्भीर रूपमा बिरामी हुन र अस्पतालमा भर्ना हुने जोखिमबाट जोगाउन सकिन्छ।