कोरोनाभाइरस महामारीमा एक वर्षभन्दा धेरै समय बिताउँदा हामी कम्प्युटरका स्क्रीनमा टाँसिएको जस्तै भएका छौँ। त्यो भनेको हामीले चलचित्र हेरेको वा टिकटक चलाएको मात्रै होइन, घरबाटै काम गर्ने प्रचलन बढ्दा हामी एकअर्कासँग सम्पर्क कायम गर्न र काम गर्न डिजिटल उपकरणमै भर परेका छौँ।
हाम्रो दैनिकी अहिले सबै 'भर्चुअल' प्रकृतिको बनेको छ र यसले हाम्रो मस्तिष्कमा डिजिटल दबाब सिर्जना गरेको छ। यसको कारण हामी काम गर्न धेरै मात्रामा डिजिटल उपकरण प्रयोग गरिरहेका छौँ भन्ने मात्रै होइन।
हामी आजकल धेरै काम गर्न डिजिटल उपकरण धेरै उपयोग गरिरहेका छौँ।
माइक्रोसफ्टले ३१ देशमा ३०,००० जनाको व्यवहार हेर्न गत वर्ष सर्वेक्षण गरेको थियो र त्यसको नतिजाको सङ्केत राम्रो छैन।
"मानिसहरू 'माइक्रोसफ्ट टिम्स'मा बैठकका लागि साप्ताहिक हिसाबले १४८ प्रतिशत बढी मिनेट खर्च गरिरहेका छन्," माइक्रोसफ्टका कर्पोरेट उपाध्यक्ष जारेड स्पाटारो भन्छन्।
"एउटा औसत प्रयोगकर्ताले कार्यालय समयपछि ४३ प्रतिशत बढी सन्देश पठाइरहेका छन् र सप्ताहान्तमा पहिलेभन्दा २०० प्रतिशत बढी सन्देश पठाइरहेका छन्। सन् २०२० को फेब्रुअरीमा भन्दा सन् २०२१ को फेब्रुअरीमा हाम्रा प्रयोगकर्ताले ४० अर्ब बढी इमेल पाए।"
स्पाटारोको व्यक्तिगत अनुभवसँग यो सङ्ख्या मेल खान्छ। उनी र उनका सहकर्मीहरू स्क्रीनअगाडि धेरै समय खर्चिरहेका छन्। उनी भन्छन् कर्मचारीहरू धेरैभन्दा धेरै बैठकहरू बस्छन् र तीमध्ये केही त खाली काम गरिरहेको छु भनेर देखाउनका लागि बसिने अनुपयोगी बैठक छन्।
यी सबैले हाम्रो मस्तिष्कलाई थाम्नै गार्हो हुने गरी भार थपिरहेका छन्। केही यस्ता उपाय छन् जसले अल्पकालीन रूपमा यो डिजिटल दबावलाई कम गर्न मद्दत गर्छन् तर दीर्घकालीन समाधानका लागि भने हाम्रो भविष्यको सञ्चार र काम कस्तो हुनुपर्छ भनेर छलफल हुनु जरुरी छ।
ठूलो मानसिक दबाव
घरबाट काम गर्दा स्क्रीन अगाडि धेरै बस्नु सामान्य हो। पहिले भेटेर हुने बैठकहरूका लागि अब स्क्रीनबाट गर्नुपर्छ।
ग्लोबल वर्कप्लेस एनालिटिक्सकी केट लिस्टर माइक्रोसफ्टको तथ्याङ्क मात्रै हेर्न नहुने बताउँछिन्। उनी भन्छिन्, टिम्स पहिले कसैले प्रयोग गर्दैन थियो, अहिले धेरैले प्रयोग गर्न थालेकाले तथ्याङ्क ह्वात्त बढेको देखिन्छ।
टिम्समात्रै होइन महामारीपछि घरबाट काम गर्न सघाउने जूम जस्ता एपहरूको प्रयोग बढेको छ।
तर यसको अर्थ माइक्रोसफ्टको तथ्याङ्कलाई बेवास्ता गर्न मिल्छ भन्ने नभएको उनको भनाइ छ। सो प्रतिवेदनले धेरै जस्तो देशमा प्रतिदिन कार्यघण्टा एक घण्टाले बढेको र बैठकहरू १० मिनेट लामो भएका छन्।
"धेरै काम गरिरहेको कुरा तथ्य हो," लिस्टर भन्छिन्। "र यसको कारण हाम्रो अगाडि सधैँभरि स्क्रीन भइराख्नु पनि हो। कार्यालयमा जस्तो सामाजिक वातावरण छैन। कार्यालयमा हामी खाजा खान जान्थ्यौँ र समय सकिएपछि घर फर्किन्थ्यौँ। अहिले त कामपछि पनि काममै हुन्छौँ।"
लामो समय काम गरिरहेका छौँ भन्नुको अर्थ हामी सहकर्मीहरूलाई सन्देश वा इमेल पठाइरहेका हुन्छौँ वा थप बैठकहरू आयोजन गरिरहेका हुन्छौँ। कार्यालयमा जस्तो साना गफहरू वा सहकर्मीसँगका छोटा अनौपचारिक गफहरू कमै गर्छौँ।
महामारीअघि हामी डिजिटल उपकरणहरू बैठकका बेला वा खाजा समयमा वा यात्रा गर्दा छोड्थ्यौँ तर अहिले यी निरन्तरका सहयात्री भएका छन्।
इमेल, इन्टरनेट, जूम वा स्काइप गर्दा त्यसले हाम्रो मस्तिष्कको प्रशोधन क्षमतालाई असर परेको छ। त्यसमा नियमित भिडियो छलफल जोड्नुहोस् अनि मस्तिष्कलाई त्यो थप भार हुन्छ।
"हाम्रो मस्तिष्क स्क्रीनमा मानिस हेर्न बनेको होइन," माइक्रोसफ्टमा ह्युमन फ्याक्टर्स इन्जिनियरिङ ल्याबका निर्देशक डा. माइकल बोहन भन्छन्।
"हाम्रो मस्तिष्क मानिसको शारीरिक हाउभाउलगायतका कुराहरू बुझ्न र सञ्चार गर्न निर्मित हुन्छ।"
अनलाइन बैठकमा जहाँ धेरै मानिसहरूको ससाना तस्बिर देखिन्छ त्यहाँ हाम्रो मस्तिष्कले प्रत्येकलाई छुट्टाछुट्टै हेर्न, सुन्न र बुझ्न प्रयास गर्छ। बैठक सुरु हुने बित्तिकै हाम्रो मस्तिष्कलाई दबाव परिसकेको हुन्छ।
"यो कुरा तपाईँले महसुस नगरेको हुन सक्छ तर स्क्रीनमा काम गर्ने बित्तिकै तपाईँको मस्तिष्कलाई थप भार परिहाल्छ," बोहन भन्छन्।
जति बढी बैठक बस्यो, हाम्रो मस्तिष्कलाई लागि झन् बढी तनाव हुन्छ। एउटा अनुसन्धानका क्रममा बोहन र उनका सहकर्मी अध्ययनकर्ताहरूले अनलाइन बैठकका बेला मस्तिष्कको गतिविधिको अध्ययन गरेका छन्।
उनीहरूले मस्तिष्कलाई सहज भएको बेला निस्कने अल्फा तरङ्ग र दबाव परेको बेला निस्कने बीटा तरङ्गलाई नापेका थिए।
अध्ययनमा बैठकहरू भएको दिनमा बीटा तरङ्ग निरन्तरजस्तै निस्केको पाए। "दिनको अन्त्यमा ती बीटा तरङ्गहरूको सम्बन्ध मानिस थकित र चिन्तित हुनुसँग रह्यो," बोहन भन्छन्।
तर बैठकमात्रै समस्या होइन। जब तपाईँ धेरै जानकारी एकैचोटि प्रशोधन गर्न खोज्नुहुन्छ तब मस्तिष्कले बीटा तरङ्ग निकाल्छ। यसको अर्थ स्क्रीनमा हेरिरहेको जुनसुकै बेला पनि भन्ने हुन्छ।
लामो समयसम्म बीटा तरङ्गको अवस्थापछि मस्तिष्कको प्रशोधन गति कम हुन्छ। तपाईँ जति धेरै काम गर्न खोज्नुहुन्छ काम गर्न त्यति नै गार्हो हुँदै जान्छ।
अल्पकालीन समाधानहरू
सकारात्मक कुरा के छ भने १० मिनेटको विश्रामलाई पनि सही तरिकाले गर्न सकियो भने डिजिटल दबाव घटाउन सकिन्छ। लामो बैठकहरूलाई छोट्टाउने वा स्क्रीनमा गरिने कामका बिचमा विश्राम लिने गर्दा मस्तिष्कमाथिको दबाव कम हुन्छ।
"तपाईँले १० मिनेट विश्राम लिनुभयो र मस्तिष्कलाई सहज हुने कार्यहरू ध्यान वा पढ्ने वा चित्र कोर्ने वा त्यसै कोर्ने गर्नुभयो भने हुन्छ," बोहन भन्छन्।
यसले अल्फा तरङ्ग बन्ने र विश्रामपछि काममा जाँगर र उत्साह आउने उनको भनाइ छ। "विश्रामले मस्तिष्कलाई दिनभरि स्वस्थ राख्न मद्दत गर्छ," बोहन भन्छन्।
थप कार्यभार र त्यसलाई घरबाटै गर्दा लाग्ने लामो समय र मिहेनतका कारण ध्यान गर्ने विश्राम असम्भव लाग्न सक्छ। तर त्यसको प्रमाणित फाइदा छन्: अल्फा तरङ्गले मस्तिष्कको प्रशोधन क्षमता कायम राख्छ र तपाईँलाई बढी उत्पादनशील बनाउँछ।
अनलाइन बैठकमा धेरै जनाको ससानो तस्बिर हेर्दा हुने दबावलाई कम गर्न माइक्रोसफ्ट टिम्सले टुगेदर मोड र जूमले इमर्सिभ सीन्स भन्ने सुविधा थपेको छ। स्पाटारोका अनुसार यसले बैठकका सहभागीलाई एउटै कोठामा भएको भान दिन्छ। यसले मस्तिष्कले प्रत्येक सहभागीलाई छुट्टाछुट्टै प्रशोधन गर्नुपर्ने मस्तिष्कको काम कम हुन्छ।
तर भिडिओ बैठक गर्ने एपहरूमा परिवर्तन गरेर हाम्रो मस्तिष्कलाई परेको डिजिटल दबावको समस्या समाधान हुँदैन।
स्पाटारोका अनुसार समस्याको मूल कारण महामारीको एक वर्षपछि पनि हामी पुरानै काम गर्ने तरिकालाई घरको नयाँ र फरक वातावरणमा जस्ताको तस्तै अपनाउन खोजिरहेका छौँ।
"यसले काम गर्दैन। हामी नयाँ युगमा प्रवेश गरेका छौँ," उनी भन्छन्। "हामीले नयाँ बानी, नयाँ अभ्यास र नयाँ संस्कृति सिक्नुपर्छ। हामीले नयाँ सीप र तरिका सिक्नुपर्छ एवम् नयाँ सांस्कृतिक मूल्यमान्यता बनाउनुपर्छ।"
कर्मचारीलाई 'कारखानाको रोबोट' जस्तो नसोची खेलाडी जस्तो सोच्नुपर्छ। "खेल प्रशिक्षणका सबै नियम लागु हुन्छ: हामीले काम गर्नुपर्छ र त्यसपछि विश्राम लिनुपर्छ। विश्राम पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।"
परिवर्तनको आवश्यकता
लिस्टरको विचारमा यो परिवर्तनको पहिलो कदम भनेको कामका बारेमा गरिने सञ्चार हो। "कसैलाई केही भन्नुपर्यो कि त्यसको लागि भिडिओ बैठक चाहिन्न," उनले भनिन्।
"एक व्यक्ति बोल्ने र अरू सबै सुन्ने लामो बैठकको सट्टा एउटा इमेलमा लेखेर पठाउन सकिन्छ।"
उनको विचारमा धेरै सङ्ख्याका बैठकहरू चाहे त्यो भेटेर गरिने होस् या अनलाइन, अनुपयोगी हुन्छ। अहिले जब बैठक हुन्छ, 'धेरै मानिसहरू अरू पनि काम गर्छन् जसले मस्तिष्कमा थप दबाब हुन्छ'।
कार्यबोझ कम गर्न कार्यालयहरूले नीति र कर्मचारीहरूबाट अपेक्षाबारे स्पष्ट जानकारी दिनुपर्छ। "कसैलाई बिहानै इमेल लेख्न मन लाग्दा तर मैले यदि बिहानै हाकिमबाट इमेल पाएँ र त्यसलाई लामो समय उत्तर लेखिनँ भने मलाई नरमाइलो लाग्छ," उनले भनिन्।
"कार्यालयले बिहानै इमेलको उत्तर लेख्न आवश्यक छैन भन्न कर्मचारीलाई स्पष्ट भन्नुपर्छ।"
तर यसको अर्थ प्रत्येक ससाना कुरामा कार्यालयले नियम बनाउने भने नभएको लिस्टर बताउँछिन्। 'उपस्थितिको व्यवस्थापन'का कारण कर्मचारीहरूले बैठक र सन्देश आदानप्रदानमा बढी समय बिताउँछन् र डिजिटल दबावमा पर्छन्। 'उपस्थितिवाद'को अन्त्य सम्बन्धी संस्कृति निर्माण गर्दा कर्मचारीलाई 'लगअफ' गर्न सघाउँछ।
सहकर्मीहरूबीच सम्बन्ध निर्माणको नयाँ उपायहरू अपनाउँदा बैठक, इमेल र अनलाइन उपस्थितिले दिने डिजिटल बोझ घटाउँछ। यसले महामारीपछि कार्य गर्ने तरिकालाई परिवर्तन गर्न पनि सघाउँछ।
"हामीले प्रत्येक प्रक्रियालाई हेर्नुपर्छ," लिस्टरले भनिन्।
"र सोध्नुपर्छ: हामी किन यो गरिरहेका छौँ? यो कार्य गर्नलाई झन् प्रभावकारी उपाय के छ? हामीले जे अहिले गरिरहेका छौँ त्यसलाई जस्ताको तस्तै नगरौँ। कसरी यसलाई राम्ररी गर्ने भन्ने उपाय पत्ता लगाऔँ।"
बिबिसी