परिचय
दम रोगभन्दा पनि रोगहरूको लक्षण हो। यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ। यस कारणले फोक्सोमा हावा जान कठिनाइ हुन्छ।जतिखेर एलर्जन्स (एलर्जी उत्पन्न गर्ने कारक तत्त्व) र इरिटेटस (अप्ठयारो उत्पन्न गर्ने तत्त्व) सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो।
दमका विभिन्न प्रकार हुन्छन् । जस्तै, सिओपिडी दम उमेर ढल्केका व्यक्तिमा हुने दमको प्रकार हो, जुन लामो समय धूमपान गर्ने व्यक्तिमा देखापर्ने गर्छ । त्यसैगरी, आस्थमा र एलर्जीका कारणले हुने दम कम उमेरका व्यक्तिमा हुने गर्छ । यस्तो दम कम उमेरका बालबालिकामा बढी हुने गर्छ, तर उमेर ढल्केकाहरूमा पनि यो दम हुन नसक्नेचाहिँ होइन ।
कसरी थाहा पाउने दम भएको ?
मानिसले दैनिक रूपमा गर्दै आएको क्रियाकलापमा असहजता तथा कठिनाइ महसुस भयो भने दम लागेको शंका गर्न सकिन्छ । हिँड्दा तथा उकालो चढ्दा स्याँ–स्याँ महसुस भयो भने दम लागेको शंका गर्न सकिन्छ ।दम लागेको व्यक्तिलाई पटक–पटक खोकी लागिरहने हुन्छ ।
सुरुवातको समयमा जुनसुकै दममा पनि परिश्रम बढी पर्ने काम गर्दा मात्रै स्याँ–स्याँ भएको महसुस हुन्छ । बिस्तारै सामान्य काममा पनि स्याँ–स्याँ महसुस हुँदै जान्छ । दम एकदमै अन्तिम अवस्थामा गएमा बस्दाबस्दै पनि स्याँ–स्याँ महसुस हुने गर्छ । यस्ता लक्षण देखापरेमा दमरोग विशेषज्ञकोमा गई विभिन्न जाँच गराउनुपर्ने हुन्छ ।
दमका दीर्घरोगीलाई चिसो समयमा भाइरललगायत अन्य संक्रमण बढी हुन सक्ने तथा चिसोयाममा हावामा प्रदूषणको मात्रा बढी हुने र चिसो हावाले एलर्जीलाई बढाउने भएकाले चिसो समयमा दमका रोगीको संख्या बढ्ने गर्छ । त्यसका कारण चिसो समयमा दमका रोगी र रोगीका हेरचाहकर्ताले विशेष ध्यान दिनुपर्ने हुन्छ ।
आस्थमा नामक दम भने पुरुषभन्दा महिलामा बढी हुने गर्छ । उनीहरूमा वंशानुगत कारणले नै यसप्रकारको दमको जोखिम बढी हुन्छ । विश्वका विभिन्न अनुसन्धानले पनि यो देखाएको छ ।
उपचारविधि
मुख्यतया दमका रोगीलाई दिइने औषधि इनेलर हो । यसमा पनि पाउडरबाट दिने इनेलर, मिटर डोज इनेलरलगायत विभिन्न प्रकार हुन्छन् । सिओपिडी, ब्रोन्किटेस्टी दमलाई भने तान्ने औषधि इनेलरका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । यो सबैभन्दा उत्तम तथा कम असर गर्ने प्रविधि हो ।
केही दमको उपचारमा भने इनेलर प्रविधिको प्रयोग त्यति प्रभावकारी मानिँदैन । श्वास फेर्ने नलीमा रोकावट धेरै नभएको दममा यस्तो प्रविधिको प्रयोग त्यति प्रभावकारी मानिँदैन । त्यस्ता दमका रोगीलाई विभिन्न प्रकारका ट्याब्लेट औषधिमार्फत उपचार गराउनुपर्ने हुन्छ ।
उपचारपश्चात् दमलाई पूर्ण रूपमा निको पार्न सकिन्छ या सकिँदैन भन्ने कुरा दमको प्रकारमा निर्भर रहन्छ । जस्तै, सिओपिडी दम धेरै नै भएको छ भने त्यस्ता बिरामीले इनेलरको प्रयोग जीवनभर गर्नुपर्ने पनि हुन सक्छ । दम सुरु भएको लामो समयसम्म उपचार नगराउनेले पनि जीवनभरि नै उपचार गराउनुपर्ने हुन्छ ।
दम लागेको सुरुवातको समय छ भने उपचारका क्रममा आउँदा इनेलर प्रविधिको प्रयोगबाट केही समयमा निको हुन सक्छ । बिस्तारै घटाउँदै लगेर पछि त्यसको प्रयोग नगरे पनि हुन सक्ने अवस्था आउन सक्छ । तर, चिकित्सकको सल्लाहविना इनेलरको प्रयोग रोक्न भने हुँदैन । यस्तो गरेमा दम बल्झिने पनि हुन सक्छ । यसले फोक्सोमा विभिन्न प्रकारका दीर्घकालीन प्रभाव हुन सक्छ ।
बच्ने उपाय
दमको कुनै स्पष्ट कारण हुदैन। बंशाणुगत कारण पनि एक मानिएको छ। अर्थात्, परिवारका अग्रजलाई यो रोग लागेको भए हुने आशंका बढी हुन्छ। दम हुने अर्को कारण पनि छ। वातावरणका एलर्जन्स वा इरिटेटसप्रति बढी सम्वेदनशील व्यक्तिलाई पनि दम हुन सक्छ।
उमेरसँग दमको कुनै सम्बन्ध छैन। यो कुनै पनि उमेरमा हुन सक्छ। ३० वर्षभन्दा मुनिकालाई दम हुनुमा एलर्जी जिम्मेवार हुन सक्छ। ३० वर्षभन्दा माथिकालाई वातावरणमा झुन्डि रहने हावाका कणले गर्दा पनि दम हुन सक्छ। बुढापाकालाई भने चुरोट, बिडी, हुक्का वा भान्साको धुवाँ, चिसो हावा र भावनात्मक तनावले दम हुन सक्छ।