काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई ७ बुँदे मागपत्र बुझाउँदै केसीले यस्तो माग गरेका हुन्। केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न, विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्तिको अभाव पूर्ति गर्न माग गरेका छन् ।
डा गोविन्द केसीले प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुको नेतृत्व चिकित्सकलाई दिनुपर्ने माग गरेका छन्। उनले गैर चिकित्सक नभई करारकै भए पनि चिकित्सकहरुको नेतृत्व दिने व्यवस्था गर्न माग गरेका छन्।
‘देशभर नै गाउँदेखि शहरसम्म कुनै पूर्वाधार र जनशक्तिको व्यवस्थाविना निजी स्वास्थ्य संस्थाहरु च्याउझैं सञ्चालनमा आएका छन् । त्यसो गर्नु गैरकानुनी मात्र नभई बिरामीहरु ठगिने, रोग बल्झिने, अंगभंग हुने र मृत्युसमेत हुने अवस्था रहेकाले देशका सबै तहका स्वास्थ्य संस्थाहरुको चुस्त अनुगमन गरी मापदण्डविपरीतका स्वास्थ्य संस्थाहरुलाई बन्द गराई दोषीलाई कारबाही गरियोस्’ केसीले भनेका छन् ।
केसीले जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण गर्न, स्तरोन्नति र गुणस्तर वृद्धि गर्न पनि माग गरेका छन् । त्यस्तै उनले स्वास्थ्य संस्थालाई करारका चिकित्सिकको भरमा काम चलाउने गरिएको भन्दै आवश्यक संख्यामा स्थायी चिकित्सक नियुक्त गर्न पनि माग गरेका छन् ।
उनले नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्रका विद्यार्थीसँग अवैध रुपमा अतिरिक्त रकम माग गरिएको भन्दै केसीले मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्न माग गरेका छन्।
‘आन्दोलनरत विद्यार्थीहरुको भविष्य अहिले पनि अन्योलमा छ। चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीहरुको गुण्डागर्दी अझै जारी भएकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकल कलेज सञ्चालकहरुमाथि कडा कारबाही गरियोस्’ केसीले भनेका छन्।
उनले यसअघि प्रधानमन्त्रीले आफूसँग गरेका प्रतिवद्धता कार्यान्वयन गर्न पनि माग गरेका छन्।
केसीले नेपाल मेडिकल काउन्सिलमा पदीय मर्यादाविपरीत स्वार्थ समूहहरुको काम गर्ने व्यक्तिहरु रहेको भन्दै स्वार्थको द्वन्द्व भएका व्यक्तिलाई पदमुक्त गरी योग्य र निष्पक्ष व्यक्ति नियुक्त गर्न माग गरेका छन्।
हेर्नुहोस् केसीले स्वास्थ्यमन्त्रीलाई दिएको ज्ञापनपत्र