काठमाडौं । विकसित देशमा घट्दो क्रममा रहेको क्यान्सर विकासोन्मुख देशमा बढ्दै गएको छ । नेपालमा प्रत्येक वर्ष २६ हजार हाराहारी नयाँ बिरामी देखिँदै गरेकोमा वार्षिक १९ हजारको मृत्यु भइरहेको छ।
विकासोन्मुख देशमा समयमै क्यान्सर पहिचान नहुनु तथा परिवर्तित जीवनशैली, व्यायाम अभाव, जंकफुड र फास्टफुडको बढ्दो प्रयोगजस्ता कारण क्यान्सर रोगी बढ्दै गएको चिकित्सक बताउँछन् ।
३० देखि ५० प्रतिशतसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ
क्यान्सर लागेमा ३० देखि ५० प्रतिशतसम्म रोकथाम गर्न सकिने क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईं बताउँछिन् ।
तर, क्यान्सर उपचारमा प्रयोग हुने, रेडियोथेरापी जस्ता उपकरण देशमा पर्याप्त मात्रामा नहुँदा बिरामीहरुले लामो समय पालो कुरेर बस्नुपर्ने बाध्यता छ ।
उपकरण सँधै अभाव
१० लाख जनसंख्या बराबर एउटा रेडियोथेरापी मेसिन भयो भने सर्वसुलभ सेवा प्रदान गर्न सकिने डा. चापागाईं बताउँछिन् । ‘अहिले ठूला अस्पतालमा करिब नौ वटा रेडियोथेरापी मेसिन उपलब्ध छन्,’ उनी भन्छिन्, ‘नेपालको जनसंख्यालाई दृष्टिगत गर्दा थप २१ रेडियोथेरापी मेसिन आवश्यक पर्छ ।’
२० प्रतिशत मृत्युको कारण क्यान्सर
नेपालमा स्वास्थ्य संस्थामा उपचार गर्न पुगेका बिरामीको तथ्यांक हेर्दा ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुषमा क्यान्सर पाइएको छ । नेपालमा कुल ६६ प्रतिशत क्यान्सर पीडितमध्ये २० प्रतिशतले ज्यान गुमाउने गरेको तथ्यांकले देखाएको छ ।
४५ प्रतिशतमा ब्लड क्यान्सर, ७५ प्रतिशत रोगी उपचार पहुँचमा छैनन्
नेपालको कूल जनसंख्यामध्ये १५ वर्ष मुनिका बालबालिकाको संख्या ३५ प्रतिशत छ । प्रत्येक वर्ष करिब २ हजार बालबालिका क्यान्सर रोगबाट पीडित हुने गरेको आकंलन छ ।
तर, उपचारको दायरामा आउने संख्या भने न्यून रहेको कान्ती बाल अस्पतालका बालक्यान्सर रोग विशेषज्ञ डा। सुधीर सापकोटा बताउछन् ।
‘बालबालिकामा सबैभन्दा बढी ब्लड क्यान्सर हुने गरेको छ । ब्लड क्यान्सरले मात्र आधा हिस्सा अर्थात ४५ प्रतिशत ओगटेको छ भने २५ प्रतिशत बालबालिका उपचार दायरामा आएका छन्,’ डा। सापकोटाले भने, ‘७५ प्रतिशत अझै उपचार दायराभन्दा बाहिर छन् ।’
नेपालमा फोक्सोको क्यान्सर पहिलो स्थानमा
नेपालमा फोक्सो, पाठेघरको मुख र स्तन क्यान्सर सबैभन्दा बढी र क्रमशः डिम्माशयको क्यान्सर, पित्तथैली क्यान्सर, पेट, आमाशयको क्यान्सर भएको चिकित्सक बताउँछन् ।
फोक्सोको क्यान्सर बढ्नुमा धुमपान अतिरिक्त वायु प्रदुषण प्रमुख कारण रहेको क्यान्सर रोग विशेषज्ञ डा.सन्ध्या चापागाईं बताउँछिन् ।
पाठेघर तथा स्तन क्यान्सर वंशाणुगत, ढिलो विवाह गर्ने र ढिलो सन्तान जन्माउनेमा बढी देखिन्छ । ३० वर्षपछि विवाह गरेका महिलामा स्तन क्यान्सरको जोखिम बढी देखिएको चिकित्सक बताउँछन् ।
पाठेघर क्यान्सर हुनुका कारण
कम उमेरमा विवाह र यौनसम्पर्क हुनु, एकभन्दा बढी जनासँग यौनसम्पर्क राख्नु कम उमेरमा धेरै बच्चा जन्माउनु, उचित सरसफाइ नगर्नु, सुर्तीजन्य पदार्थ सेवन गर्नु, यौनरोग एवं गुप्तांगसम्बन्धी दीर्घरोगी हुनु, पाठेघरको मुखको क्यान्सरका प्रमुख कारण हुन् । विकीरण, प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरको कारणका रुपमा लिइएको छ ।
चिकित्सकका अनुसार पाठेघरको क्यान्सर ह्युमनपापिलोमा भाइरसका कारण हुन्छ । असुरक्षित यौनसम्पर्क र धेरै सन्तान जन्माउँदा पाठेघरको मुखमा चोट लागेर यो भाइरसको संक्रमण बढेमा क्यान्सरको सम्भावना बढ्छ । रोग प्रतिरोधी क्षमता कम हुने र धुमपान गर्नेमा यो समस्या झनै देखिन्छ ।
३० वर्षको उमेरमा नै पाठेघर क्यान्सर
चिकित्सकका अनुसार साधारणतया क्यान्सर ४० वर्ष उमेरपछि देखापर्ने भएपनि नेपालजस्ता अविकसित देशमा ३० वर्ष अथवा त्यसभन्दा कम उमेरमै देखापर्ने गरेको छ ।
कहाँ–कहाँ हुन्छ क्यान्सर उपचार ?
नेपालमा चितवन भरतपुर, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंका वीर अस्पताल, कान्ति बालअस्पताल, पाटन अस्पताल, मणिपाल क्यान्सर अस्पताल, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर तथा काठमाडौं क्यान्सर सेन्टरमा क्यान्सर उपचार हुन्छ ।
के हो क्यान्सर ?
शरीरमा कोष बन्ने र निश्चित समयपछि नष्ट हुने प्रक्रिया जारी रहन्छ । कोषको विभाजन, यसको नष्ट र डिएनए निर्माण महत्तवपूर्ण भूमिका निभाउने वंशाणुमा खलल पुगे निर्माण प्रक्रिया अनियन्त्रित भई क्यान्सर हुने चिकित्सकले बताएका छन्।
क्यान्सर रोगको त्यो ठूलो समूह हो, जसमा शरीरको भाग विशेषमा कोषको अस्वाभाविक वृद्धि हुन्छ । त्यसले कोषको आफ्नो क्षेत्र नाघेर फैलिँदै जान्छ र छेउका कोष तथा अंगमा आक्रमण गर्दै फैलिन थाल्छ । शरीरको कुनै पनि भागमा क्यान्सर लाग्न सक्छ ।