बागलुङ । बागलुङका ६२ देखि ६४ वर्षका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड-१९ विरुद्धको बुस्टर डोज दिन थालिएको छ। सो उमेर समूहका झण्डै ३ हजार ५०० जनाले खोपको थप मात्रा पाउने छन्।
खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए। उनका अनुसार जिल्लाका दसवटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ।
‘हरेक स्थानीय तहमा सातामा दुई बार खोप सेवा सञ्चालन भइरहेको छ, बुस्टर मात्रा पनि त्यसैअन्तर्गत दिइन्छ’, उनले भने, ‘६० वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने भनिए पनि दुवै मात्रा खोप लगाएर ६ महिना पुगेका ६२–६४ वर्ष उमेर समूहलाई पहिलो चरणमा खोप दिन लागिएको हो।’ उनले सरकारी नीतिअनुरुप नै जिल्लामा खोपको उपलब्धता हेरेर सबै ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने बताए।
यसअघि महामारीका बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायत गरी करिब ३ हजारलाई बुस्टर डोज दिइएको थियो। कोभिशिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन्। पहिले जुनसुकै खोप लगाएको भए पनि अहिले कोभिशिल्डकै बुस्टर मात्रा दिन मिल्ने गरी नयाँ खोप वितरण नीति तय भएको सुपरभाइजर खत्रीले बताए।
बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले आज र मंगलबार ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने जनाएको छ। नगरको स्वास्थ्य शाखा परिसरबाटै खोप सेवा प्रदान हुनेछ। अरु स्थानीय तहले पनि स्थानीय अनुकुलतामा बार तोकेर खोप अभियान सञ्चालन गरिरहेका छन्। स्वास्थ्य कार्यालयको आँकडाअनुसार जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड(१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्। खोपको दुवै मात्रा लगाउनेको सङ्ख्या भने ७८ प्रतिशत छ।
पहिलो मात्रा खोप लगाउने १ लाख ४४ हजार ९७० छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या १ लाख २८ हजार ५५९ रहेको छ। १२ देखि १७ वर्षभित्रका झण्डै २७ हजार किशोरकिशोरीलाई पनि मोडेर्ना खोप दिन सुरु गरिएको छ। १२ वर्षमुनिका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन। सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने लक्ष्य राखेको छ। सबै उमेर समूहलाई लक्षित गरी खोप अभियान चलेमा यहाँका २ लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्नेछ।
खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको स्वास्थ्यकर्मी बताउँछन्। धवलागिरी अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलका अनुसार पछिल्लो लहरमा कोभिड(१९ ले थलिएर अस्पताल भर्ना हुनेको संख्या न्यून छ। ‘खोपले शरीरको प्रतिरोधी क्षमता बढाएका कारण सङ्क्रमण भइहाले पनि स्वास्थ्य जटिलता निम्तिएको छैन’, उनले भने।
हाल जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमितको संख्या ४८४ छ। पछिल्ला दिनमा दैनिक थपिने सङ्क्रमितको संख्या घट्दो छ। बिहीबार २२ सङ्क्रमित थपिएका छन् भने ८५ जना कोरोनामुक्त भएका छन्।