काभ्रे । बिस्तारै संक्रमणदर ओरालो लागेसँगै पर्यटकीयस्थल धुलिखेलका होटल व्यवसायी तङ्ग्रिनेमा आशावादी देखिएका छन्।
कोरोना संक्रमणको तेस्रो लहरसम्मले होटल–पर्यटनमा ठूलो घाटा व्यहोर्नुपरेको दुःखेसो पोख्दै धुलिखेलस्थित होटल माउण्ड प्रिन्सका सञ्चालक ज्योत्स्ना सैंजू कोरोना संक्रमणदर ओरालो लागिरहँदा होटल व्यवसाय तंग्र्रनेमा आशावादी बन्दै गएको बताउँछिन्। कोरोनाको अर्को लहर आए धुलिखेलका अधिकांश होटल व्यवसायीले धान्न मुस्किल पर्ने उनले बताइन्।
सैंजूका अनुसार कोरोना संक्रमणको तेस्रो लहरसम्म आइपुग्दा होटल–व्यवसाय धरासायी भई धुलिखेलका चार होटल बन्द भइसकेका छन्। जिल्लामा कोरोनाको पहिलो र दोस्रो लहरमा १९३ को मृत्यु भएको थियो भने तेस्रो लहरमा दुईको मृत्यु भएको छ। हाल यहाँ ५३५ सक्रिय संक्रमित छन्। नेपालमा कोरोना महामारीको तेस्रो लहरसम्म आइपग्दा धुलिखेलमा विदेशी पाहुना आउन छाडिसकेको व्यवसायी बताउँछन्।
पर्यटकीयस्थल धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन्। धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब ५० अर्ब रुपैयाँको लगानी रहेको छ। यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका अलावा काठमाडौं, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दथे।
गत पुसदेखि तेस्रो लहर सुरु भएसँगै धुलिखेलका होटलमा बुकिङ रद्द भएका थिए। पुस र माघमा होटल ठप्पप्रायः नै रहेको व्यवसायी बताउँछन्। कोरोनाको जोखिमले पटक–पटक होटल बन्द गर्नुपर्ने कारणले व्यवसायमा घाटा ब्यहोरिरहनुपरेको गुनासो आउन थालेको हानका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताए।
दैनिक २०० को हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने रिसोर्टमा कोरोनाको दोस्रो लहरपछि शून्यमै झरेको श्रेष्ठले बताए। कोभिड–१९ का कारण पर्यटन क्षेत्रले व्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन निकै हम्मेहम्मे पर्नेमा व्यवसायी चिन्तित देखिएका छन्।
सङ्घले यसअघि धुलिखेलको पर्यटन प्रवद्र्धनार्थ ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’लगायत विशेष प्याकेज सञ्चालन गर्ने योजना अघि सारेको थियो। साथै जीपलाइनिङ, हाइकिङ र हजार सिँढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो।
सङ्घले पुनः प्याकेजका कार्यक्रम ल्याएर व्यवसाय उकास्ने प्रयत्नमा लाग्ने योजना बनाइरहँदा तेस्रो लहरले प्रभावित बनेको देखिएको छ।