चितवन । पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ। यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो। अस्पतालको तथ्याङ्कअनुसार कूल नयाँ क्यान्सरका बिरामीमध्ये ५५ प्रतिशत महिला र पुरुष ४५ प्रतिशत छन्।
गत आर्थिक वर्षमा अस्पतालमा ९० हजार ५७१ ले सेवा लिएकामा चार हजार ६०८ नयाँ क्यान्सरका बिरामी थिए। अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार नयाँ क्यान्सका बिरामीमध्ये दुई हजार ५१७ महिला र दुई हजार ९१ पुरुष रहेका छन्। पच्चिस हजार हाराहारी पुराना क्यान्सरका बिरामी रहेको उहाँको भनाइ थियो।
अघिल्ला वर्षको तुलनामा कोभिडका कारण गत वर्ष बिरामीको सङ्ख्या कम देखिएको र त्यस अवधिमा महिलाको सङ्ख्या बढ्दै गएको कार्यकारी निर्देशक गौतमले बताए। अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा बढी १२ प्रतिशत फोक्सोको क्यान्सरका थिए। दोस्रो धेरै पाठेघरको मुखको क्यान्सर १० दशमलव १७ प्रतिशत, स्तनको क्यान्सर १० दशमलव ११ प्रतिशत, मुखभित्रको क्यान्सर नौ दशमलव पाँच प्रतिशत रहेका थिए। यस्तै महिलाको पाठेघर, पित्तथैली, आमाशय, थाईराइड र कलेजोमा ल्युकेमिया, कोलनजस्ता क्यान्सर हुने गर्दछ। पुरुषको आमाशय, पिसाबथैली, ल्यारेक्स, कलेजो, ल्युकेमिया र जिब्रोमा रेक्टम, कोलनजस्ता क्यान्सर बढी हुने गरेका छन्।
क्यान्सर हुनाको यकिन कारण भन्न नसकिए पनि स्तन र पाठेघरको मुखको क्यान्सर बढी भएका कारण महिलाको सङ्ख्या बढ्दै गएको हुनसक्ने अनुमान उनको थियोे। पुरुष प्राय उपचारका लागि विदेश जाने तर धेरैजसो महिलाको यही उपचार हुने भएकाले पनि महिलाको तथ्याङ्क बढेको हुनसक्ने पनि अनुमान गरिएको छ। निर्देशक गौतमको भनाइमा नेपालमा २५ हजार हाराहारी नयाँ बिरामी थपिन्छन्। तीमध्ये आधाभन्दा बढी उपचारका लागि विदेश जाने गर्दछन्।
अस्पतालका महिला क्यान्सर रोग विशेषज्ञ डा विजय आचार्यले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर धेरैजसोलाई हुने भएकाले महिलाको सङ्ख्या बढ्नामा एउटा कारण हुनसक्ने बताए। पुरुष विदेश गएर उपचार गराउने र प्राय महिलाको नेपालमै उपचार हुने भएर सङ्ख्या बढेको हुनसक्ने उनको पनि आँकलन थियो। यहाँको क्यान्सर अस्पतालमा गत वर्ष थोरै सङ्ख्यामा उपचार भएकाले यही तथ्याङ्कको आधार नै सही हो भन्न सक्ने अवस्था नरहने उहाँको भनाइ थियो। पहिले पहिले दुई तीन प्रतिशत पुरुष बढी क्यान्सर रोगी हुने गरेको अस्पतालका पूर्वकार्यकारी निर्देशकसमेत रहनुभएका आचार्यको भनाइ थियो।
रासस