-समृद्धा के.सी.
काठमाडौं- अमेरीकामा गरिएको एक अध्ययनका अनुसार ७२ प्रतिशत महिलाले आफ्नो जीवनकालको कुनै न कुनै समयमा हाइ हिल अर्थात अग्लो जुत्ताको प्रयोग गरेका हुन्छन् । नेपालको सन्दर्भमा ग्रामिण भेगमा भन्दा शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरुले बढि मात्रामा हिल जुत्ताको प्रयोग गर्ने गरेको पाइन्छ । हाइ हिलको प्रयोग एक फेसन जस्तै हो भन्दा पनि फरक पर्दैन । कतिपय मोडल, बैंकर , एयर होस्टेज लगायत विभिन्न क्षेत्रहरुमा काम गर्ने महिलाहरुका लागि यसको प्रयोग अनिर्वाय नै मानिन्छ ।
हिल जुत्ता भन्नाले कुरकुच्चा उच्च भएको र अगाढी औलाहरु तल गएको जुत्तालाई बुझिन्छ । हिल जुत्ता प्रयोग गर्नाले स्वास्थ्यमा नकारात्मक असर पर्ने विज्ञहरु बताउँछन् । कुरकुरच्चा उठेको र औला सिधै अगाडी आएको हिल स्वास्थ्यका हिसाबले बढि असरदार मानिन्छ । लामो समय देखि हिल जुत्ताको प्रयोग गर्नाले स्वास्थ्यमा तीन किसीमबाट असर पर्न जान्छ । ति असरहरु यस प्रकार छन् ।
१. तत्काल देखिने असर
२. केहि समय पछि देखिने असर (केहि दिन वा हप्तामा)
३. दिर्घकालीन असर
हिल जुत्ता नलगाउँदा शररीको तौल एकनासले सबै तिर बराबर हुन्छ भने हिल जुत्ता लगाउदा तौल कतै बढि कतै कम पर्न जान्छ । उदाहरणका लागि १ इन्चको जुत्ता लगाउदा खुट्टाको औला (फोरफुट) तिर २५ प्रतिशत भार पर्छ भने २ इन्चको लगाउदा ५० प्रतिशत भार पर्छ जति बढि इन्चको जुत्ता लगायो उति नै स्वास्थ्यमा असर पर्दै जान्छ ।
१.तत्काल देखिने असर
हाइ हिल लगाउँदा स्वास्थ्यमा तत्काल देखिने असर हिल भाचिएर वा कतै अल्झेर खुट्टा भाचिने, मर्किने, घुडाको इन्जुरी हुने जस्ता समस्याहरु आउँन सक्छन् ।
२.केहि समयमा देखिने असर (केहि दिन वा हप्तामा देखिने असर)
हिल जुत्ताको केहि दिन, हप्ता वा महिनाको प्रयोगले निम्त्याएको समस्यालाई बुझिन्छ । प्राकृतिक रुपमा बनेको शारीरिक बनावटलाई यसले बिग्रान सक्छ । ढाडको मासंपेशी दुख्ने , पिडौलाको मासु दुख्ने र खुट्टाको मानशंपेशी पनि दुख्ने हुन्छ । जसले गर्दा केहि महिलाहरुमा हिल जुत्ताको प्रयोग गर्दा ढाड, पिडौला, खुट्टाहरु दुख्ने समस्याहरु आउँन सक्छन् । हिडाइमा पनि परिवर्तन ल्याउन सक्छ । हिल जुत्ताको प्रयोग गर्न छोडेपछि यस्ता समस्याहरु आफै ठिक हुदै जान्छन् ।
३.दिर्घकालिन असर
लामो समय देखि हिल जुत्ताको प्रयोग गरेर आउँने समस्याले नै दिर्घकालीन असर गर्छ । जसमा पेशागत रुपमा नै हिल जुत्ताको प्रयोग गर्ने व्यक्तिहरु पर्दछन् । जसले नियमित रुपमा महिनौं वा वषौं हिल जुत्ताको प्रयोग गर्छन त्यस्तो व्यक्तिको खुट्टा, घुडा, ढाड र हिप जोइन्टहरु स्थाइ रुपमा नै खराब गर्न सक्छन् ।
खुट्टामा आउँने समस्या
पोइन्टेट हिलले खुट्टामा बढि समस्या आउने गर्छ । औलाहरु बांगिदै जाने बुढिऔला पनि अरु औला तिर बांगीदै जाने समस्या हुन्छ । त्यस्तै बुढी औलाको छाला नै बाक्लो हुदै छोएपनि थाहा नपाउँने अवस्थामा पुग्छ । खुट्टाको जोर्नीहरुमा पनि हड्डी खिइदै जाने समस्या आउँछ ।
घुडामा आउँने समस्या
पोइन्टेट हिल लगाउदा शरीरको सम्पुर्ण तौल खुट्टामा पर्दा घुडामा पनि असर पर्न जान्छ । हिल जुत्ताहरु बढि प्रयोग गर्ने महिलामा ३५ ३६ वर्ष मै हड्डीहरु खिएर जाने सम्भावना धेरै हुन्छ ।
त्यस्तै यसले मुख्य गरेर स्पाइनल वा ढाडको हड्डीमा असर पर्छ जसले गर्दा ब्याक पेनको समस्या निम्त्याउँछ । ढाडको नसाहरु च्यापिएर प्यारालाइसिस हुने , दिसा पीसाब लागेको थाहा नपाउँने अवस्था पनि आउँन सक्छ । अरु सामान्य समस्याहरुमा नसा निस्केको ठाउँलाई साघुरो बनाउने , ढाड देखि खुट्टासम्मको मसलहरु कडा भएर छोटो हुन सक्छ ।
उपचार विधि
हिल लगाएको छोटो समयमा नै समस्या आउन थाल्यो भने हिल जुत्ता नलगाउँदा पनि समस्याबाट छुटकारा पाउँन सकिन्छ भने लामो समय हिल जुत्ता लगाउँदा आएको समस्यालाई निराकरण गर्नका लागि चिकित्सकसँग सल्लाह लिएर कहिले काही शल्यक्रिया समेत गर्नुपर्ने अवस्था आउँन सक्छ । सकेसम्म हिल जुत्ता नलाएकै राम्रो मानिन्छ तर लगाउनै परेको खण्डमा पनि थोरे समयका लागि लागाउनुपर्छ त्यसका साथै बालबालिकाहरुलाई सकेसम्म हिल जुत्ता लगाउँन दिनुहुदैन । हिल लगाउनै परे पनि ५ १० मीनेट लगाउनु अघि र पछि खुट्टाहरु मजाले तन्काउनु पर्ने हुन्छ । जसले गर्दा ब्याक पेन वा अन्य कुनै समस्या आउँदैन । साथै पेन्सिल हिल सके सम्म लागाउँनु हुदैन । हिल जुत्ता प्रयोग नै गर्नु छ भने २ इन्चभन्दा कमको प्रयोग गर्नुपर्छ ।
(हिमाल अस्पतालमा कार्यरत हाड जोर्नी तथा नसा रोग विषशेज्ञ डा.सौरब दाहाल सँगको कुराकानीमा आधारीत)