एजेन्सी । विश्वमा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्कले सङ्क्रमण घट्दै गइरहेको देखाएको हो।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावट सुरु भएसँगै सङ्क्रमण ह्वात्तै बढेको थियो । बढेर दैनिक सङ्क्रमण ४० लाख हाराहारीमा पुग्यो । तर दुई दिनयता सङ्क्रमण निरन्तर ओरालो लाग्दै गइरहेको छ ।पछिल्लो २४ घण्टाभित्र विश्वभर १९ लाख ५३ हजार ४४ जनामा कोरोना पुष्टि भयो । यो सङ्ख्या केही दिनयताकै कम हो । विश्वमा हालसम्म ३९ लाख ५७ लाख ९८ हजार छ सय ७१ जनामा सङ्क्रमण यकिन भइसकेको छ ।
सङ्क्रमितमध्ये ३१ करोड ४५ लाख ९७ हजार दुई सय नौ जना उपचारपछि निको भइसकेका छन् । एकै दिन १८ लाख ३६ हजार चार सय ४३ जना कोरोनामुक्त बने । विश्वमा हाल सात करोड ५४ लाख ४३ हजार एक सय १६ जनाको उपचार जारी छ ।
उपचाररतमध्ये ९० हजार छ सय १५ जनाको अवस्था गम्भीर छ । विश्वमा एकै दिन कोरोनाका कारण छ हजार तीन सय पाँच जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ लाख ५८ हजार तीन सय ४६ पुगेको छ ।
ओमिक्रोनको सङ्क्रमण सुरु भएयता थपिएका नयाँ बिरामीको सङ्ख्याले कोरोनाका कारण विश्वको अवस्था भयावह बनाउने सङ्केत गरेको थियो । तर सङ्क्रमित सङ्ख्या बढे पनि मृत्यु दर उस्तै रहयो । कोरोनाको दोस्रो लहरमा मृत्यु दर धेरै थियो ।
दोस्रो लहर उत्कर्षमा पुगेका बेला विश्वमा दैनिक सात लाख हाराहारीमा सङ्क्रमित भेटिन्थे । त्यो सङ्ख्या घटेर दुई लाख हाराहारीमा झर्यो । ओमिक्रोनको फैलावट सुरु भएपछि सङ्क्रमण छ गुणाले बढ्यो ।
दोस्रो लहरमा दैनिक १५ हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो । त्यो सङ्ख्या घटेर दुई हजार हाराहारीमा पनि झर्यो । ओमिक्रोनको सङ्क्रमण सुरु भएपछि मृत्यु हुनेको सङ्ख्या १० हजारबाट उकालो लागेको छैन ।
अमेरिकामा एकै दिन ५० हजार पाँच सय ६१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या सात करोड ८० लाख १७ हजार दुई सय ५२ पुगेको छ । सङ्क्रमितमध्ये चार करोड ७९ लाख ९४ हजार आठ जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा ९३ हजार सात सय ५६ जना कोरोनामुक्त बने । अमेरिकामा हाल दुई करोड ९० लाख ९७ हजार दुई सय २० जना सक्रिय सङ्क्रमित छन् । उपचाररत सक्रिय सङ्क्रमितमध्ये २० हजार एक सय १२ जनाको अवस्था चिन्ताजनक छ ।
एकै दिन अमेरिकामा कोरोनाका कारण तीन सय ६९ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या नौ लाख २६ हजार २४ पुगेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो ।
नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र ८३ हजार ६४ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या चार करोड २२ लाख ७१ हजार दुई सय दुई पुगेको छ । सङ्क्रमितमध्ये चार करोड छ लाख ४९ हजार एक सय ५९ जना उपचारपछि निको भइसकेका छन् ।
एकै दिन भारतमा एक लाख ८८ हजार ११ जना सङ्क्रमणमुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । भारतमा हाल ११ लाख १९ हजार एक सय ३८ जना सक्रिय सङ्क्रमित छन् । उपचररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
पछिल्लो २४ घण्टामा भारतमा आठ सय ९७ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख दुई हजार नौ सय पाँच पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।