काठमाडौं । सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाएको छ।
काठमाडौँ उपत्यकालगायत कोरोनाको जोखिम भएका विभिन्न स्थानहरूमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउनुका साथै फिल्महल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरूलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको हो ।
पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरूको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरू गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
उनले कोरोनाका बिरामीहरू अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र सङ्क्रमण पुष्टि हुनेको सङ्ख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको बताए ।
सहप्रवक्ता अधिकारीका अनुसार नेपालमा १२ वर्षमाथिका १८ वर्षमुनिका बालबालिकाहरूको सङ्ख्या अनुमानित ३४ लाख रहेको र तीमध्ये ३० लाख बालबालिकाहरूले खोपको पहिलो मात्रा लगाइसकेको बताए ।
उनले यो उमेर समूहका बाँकी चार लाख बालबालिकालाई पनि चाँडै नै खोप उपलब्ध गराउने काम भइरहेको बताए । सहप्रवक्ता अधिकारीले कोरोना सङ्क्रमण भई निको हुनेको सङ्ख्या बढिरहेकाले उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेको र स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी जनजीवनलाई खुकुलो बनाउँदै लगिएको बताए ।
सहप्रवक्ता अधिकारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेलाबेलामा साबुनपानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्न पनि आग्रह गरे ।