काठमाडौं । सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाएको छ । काठमाडौं उपत्यकालगायत कोरोनाको जोखिम भएका विभिन्न ठाउँमा सवारी-साधनमा जोर-बिजोर प्रणाली हटाइएको छ ।
सरकारले फिल्महल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरुलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको हो । पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले कोरोनाका बिरामीहरु अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको बताए ।
सह-प्रवक्ता अधिकारीका अनुसार नेपालमा १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरुको संख्या अनुमानित ३४ लाख छ । तीमध्ये ३० लाख बालबालिकाले खोपको पहिलो मात्रा लगाइसकेको उनले बताए । उनले यो उमेर समूहका बाँकी ४ लाख बालबालिकालाई पनि चाँडै खोप उपलब्ध गराउने काम भइरहेको स्पष्ट पारे । अधिकारीले कोरोना संक्रमण भइ निको हुनेको संख्या बढी रहेकाले उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेको बताए ।
स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी जनजीवनलाई खुकुलो बनाउँदै लगिएको उनले बताए । उनले भने, ‘कोभिड १९ संक्रमणको पछिल्लो अवस्था हेर्ने हो भने दैनिक रुपमा संक्रमण पुष्टि हुनेहरुको संख्या कम हुँदै गएको छ । अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि सुधार हुँदै आइरहेको अवस्था छ । यद्यपि कोरोनाको जोखिम भने कायम छ ।
हामीले जोखिमबाट शतर्कता अपनाउनुपर्ने, सावधान रहनुपर्ने कुराहरु छँदै छन् । सबै कुराहरुको विश्लेषण गर्दा अहिले पछिल्लो अवस्था जनजीवनलाई पनि सहज बनाउँदै जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्दै जाँदा सबैलाई सहज हुने भन्ने सोचेर सरकारले पछिल्ला निर्णयहरु लिँदै गइरहेको अवस्था छ ।’
उनले खोपका कारण रोग प्रतिरोधात्मक क्षमता बढेको बताए । उनले भने, ‘छोटो समयमा धेरै व्यक्तिहरु संक्रमित भएर निको बन्नु भएको हिसाबले उहाँहरुसँग तत्काल प्राकृतिक रुपमा आर्जन गरिएको रोग प्रतिरोधात्मक क्षमता पनि छ । अर्को, जनस्वास्थ्यका मापदण्डको विषयमा हामी धेरै जानकार छौँ । हामीले सबै कुराहरु पालना गर्दै जान्छौँ भन्ने कुराको अपेक्षासहित जनजीवनलाई खुकुलो बनाउने सरकारले कदमहरु लिन थालेको हो । जसले जोखिमका बीचमा पनि हामी सजग भएर सुरक्षित रहनसक्ने अवस्था हुनसक्छ भन्ने हाम्रो अनुमान हो ।’
अधिकारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेलाबेलामा साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गरे । उनले जनजीवनलाई सामान्य अवस्थामा ल्याउन स्वास्थ्य मन्त्रालय लागिपरेको स्पष्ट पारे । उनले सरकारका कारण कोरोना संक्रमण घटेको बताए ।