काठमाडौं । औषधिको मुल्य बढाउनका लागि सरकार तयार भएको छ ।वैज्ञानिक मुल्य निर्धारणका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई सरकारले निर्देशन समेत दिइसकेको छ । सोमबार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा औषधिको मुल्य निर्धारण, मुल्य समायोजन तथा विभागको पुर्नसंरचनाका विषयमा छलफल भएको थियो।
सो छलफलबाट विभागलाई औषधिको मुल्य निर्धारणका लागि कार्यविधि तयार गर्न तथा विभागको पुर्नसंरचना गर्न निर्देशन प्राप्त भएको विभागले जनाएको छ । यस्तै औषधि ऐनलाई समेत समयसापेक्ष रुपमा परिवर्तन गर्ने विषयमा पनि छलफल भएको थियो ।
बैठकमा विभागका महानिर्देशक भट्टराई, विभागका सूचना अधिकारी सन्तोष केसी, औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी, राज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ गुणराज लोहनी लगायतको सहभागिता थियो ।
छलफलमा सहभागि औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले औषधिको आपूर्ति सहजिकरणको विषयमा पनि छलफल भएको बताए। यस्तै औषधिको मुल्य समायोजनका विषयमा पनि छलफल भएको थियो। सम्वद्ध पक्षको छलफलपछि सरकारले औषधिको मुल्य समायोजनका लागि औषधि व्यवस्था विभागले कार्यविधि बनाएर पेस गर्ने र प्रधानमन्त्री कार्यलयले सहजिकरण गर्ने निर्णय भएको छ।
यस्तै औषधि व्यवस्था विभागलाई चुस्त, दुरुस्त बनाउन पुर्नसंरचना गर्ने, आयातित औषधिको मुल्यको विषयमा सहजिकरण गर्ने निर्णय भएको अधिकारीले बताए।