काठमाडौं । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।
कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले उक्त निर्देशन दिएको हो।
छानबिन समितिले ६ जिल्लाका स्वास्थ्य कार्यालय र एक सय नौ स्थानीय तहलाई बुधबारसम्म विवरण बुझाउन निर्देशन दिएको जानकारी समितिका संयोजक डा. गुणराज लोहनीले दिए । मन्त्रालयले खोपको एकीन तथ्याङ्क नभेटेपछि यही माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।
यसअघि समितिले माघ २१ गतेभित्र स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, सात सय ५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको थियो।
कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको विषयमा छानविन गर्न समिति गठन गरिएको हो। सोही समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन माघ १७ गते पहिलो पटक पत्राचार गरेको थियो।तर, केही जिल्ला र स्थानीय तहले विवरण उपलब्ध नगराएपछि पुनः पत्राचार गरिएको हो । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोपको कुनै तथ्याङ्क नभेटिएको विषयमा संसदीय समितिलाई पनि जानकारी गराएका थिए।
स्वास्थ्य सचिव पोखरेलले ठूलो मात्रामा खोप हराएको तथ्य सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको आलोचना गर्दै आएको छ । विपक्षीको चर्को आलोनापछि स्वास्थ्य तथा जनसँख्यामन्त्री विरोध खतिवडाले हराएको खोप खोज्न डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेका थिए।