धेरैलाई तीतो भएकै कारणले करेला मन नपर्न सक्छ तर यसमा रहेको गुणले हाम्रो स्वास्थ्य र सौन्दर्यमा आइपर्ने विभिन्न समस्याहरूबाट हामीलाई बचाउँछ । कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिर्टस जस्ता खनिज तत्त्वहरू करेलामा भएका कारण हाम्रो स्वास्थ्यका लागि करेला खानु धेरै राम्रो मानिन्छ।
करेलामा हुने विभिन्न खनिज तत्त्वले मधुमेह तथा उच्चरक्तचाप नियन्त्रण गर्नदेखि हाम्रो शरीरमा हुने अन्य विभिन्न खालका समस्याबाट छुटकारा पाउन सकिन्छ ।
यस्ता छन् करेलाका खानुका फाइदा
मधुमेह समस्या भएकाहरूले नियमित करेलाको रस खानाले मधुमेह नियन्त्रण गर्न सहयोग गर्छ । यस्तै, जन्डिसका बिरामीले करेलाको पातको रसमा थोरै हरडको धूलो मिलाएर बिहान बेलुका पिउनाले जन्डिस निको पार्न मद्दत गर्छ । पत्थरीको समस्या भएको व्यक्तिले हरेक दिन बिहान बेलुका करेलाको हरियो पातको रसलाई दहीमा मिलाएर पिउने गर्नाले पत्थरी निको पार्न मद्दत गर्छ । पेटमा कीराको कारणले यदि पेट दुख्ने समस्या छ भने बिहान बेलुका तीन दिनसम्म करेलाको रस पिउनाले पेटका कीरा नष्ट भएर राहत मिल्छ ।
काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्नी दुखेको ठाउँमा लगाउनाले दुखाइमा राहत मिल्छ । करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ । उच्चरक्तचाप भएकाहरूले नियमित रूपमा करेलाको सेवन गर्नाले रक्तचाप नियन्त्रणमा आउने गर्छ ।
यस्तै, अनुहारमा दाग आएको छ भने करेला सेवन गर्नाले रगत शुद्ध बनाउँछ र अनुहारमा दाग पनि आउँदैन ।
धेरै भिटामिन ‘ए’ पाइने करेला एक राम्रो एन्टी अक्सिडेन्ट हो, जसले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ । करेला सेवनले एन्टी एजिङको काम पनि गर्छ । यस्तै, नियमित रूपमा करेला सेवनले छालामा हुने विभिन्न खालका एलर्जीबाट बचाउँछ । छाला जवान र चक्किलो देखिन्छ । पोतोको गहिरो दागमा करेलाको पात पिसेर लगाउनाले दाग हराउँछ ।