काठमाडौं - कुनै पनि व्यक्तिमा हुने शारीरिक, मानसिक तथा संवेदनात्मक विकृति जसले आफ्नो दैनिक कार्य सम्पादनमा बाधा पु¥याएको हुन्छ, त्यसलाई नै अपांगता भनिन्छ । तर समयमै उमेर अनुसारको विकास, सक्षमता र अपाङ्गताको पहिचान गरी उपयुक्त वातावरण र अवसर पाएमा ती बालबालिका स्वावलम्बी हुन सक्छन् ।
अपाङ्गताका केही कारणहरू
जन्मजात असामान्यता
आमाबावुबाट शिशुमा रोग सर्नु
गर्भावस्थामा समस्या हुनु
प्रशवका बेला समस्या र जटिलता आउनु
जबर्जस्ती प्रसूती गराउदा
दुर्घटना भएमा
रोग लागेमाः जस्तै पोलियो, अति ज्वरो, मस्तिष्क ज्वरो, आदि
गम्भीर कुपोषण
अपाङ्गताको पहिचान कसरी गर्ने ?
सामान्य रुपमा निम्न सङ्केतबाट अपाङ्गताको पहिचान गर्ने
आफ्ना शिशुको हरेक क्रियाकलाप ध्यान पूर्वक अवलोकन गर्ने
स्पर्श, आवाज, अन्य व्यक्ति, आँखाको सम्पर्क र खेलौनाहरूप्रति शिशुले प्रतिक्रिया गर्छ कि गर्दैन ध्यान दिने
शिशुका आँखा वरिपरि रङ्गीन वस्तुहरू हल्लाउँदा हेर्छ कि हेर्दैन परीक्षण गर्ने
शिशुलाई पछाडीबाट बोलाउदाँ वा घण्टी बजाउँदा आवाजतिर फर्कन्छ, फर्कदैँन हेर्ने
उमेरअनुसार बस्ने, घस्रिने, हिंड्ने र टाउको सन्तुलन गर्ने क्रियाकलाप गर्न सक्छ कि सक्दैन हेर्ने
उमेर अनुसार स्पष्टसँग कुराकानी गर्न सक्छ कि सक्दैन हेर्ने
अनुभव गरेका, सिकेका कुरा सम्झेर बताउन सक्छ कि सक्दैन ध्यान दिने
दैनिक दिनचर्याका परिवर्तनलाई स्वीकार गर्न गाह्रो मान्छ कि मान्दैन ध्यान दिने
अरुसँग घुलमिल हुन र साथी बनाउन गाह्रो मान्छ कि मान्दैन हेर्ने
अपाङ्गताको रोकथाम
आमा तथा बालबालिका प्रतिरक्षित खोप लगाउने
पौष्टिक खाना खाने र गर्भावस्थामा स्वस्थ रहने
गर्भावस्थामा रक्सी, चुरोट, लागुपदार्थ नखाने
डाक्टरको सल्लाहबिना औषधि सेवन नगर्ने
गर्भावस्थामा छँदा एक्स रे नगराउने
सरुवा रोग हुनबाट सावधान भई बच्ने
गर्भावस्थामा छँदा र सुत्केरी भएपछि सम्भाव्य दुर्घटनाहरूबाट जोगाउने
स्वास्थ्य संस्थामा दक्ष स्वास्थकर्मीको सहयोगमा प्रसुति गराउने
अपाङ्गता भएका बालबालिकालाई हौसला
अपाङ्गता भएका बालबालिका र अपाङ्गता नभएका बालबालिकामा उस्तै भावना र आवश्यकता हुने हुँदा समान व्यवहार गर्नुपर्दछ । वृद्धि विकास हुने अवसर र वातावरण दिएर हुर्काउनु पर्दछ । बालबालिकालाई आमाबाबु र परिवारहरूबाट टाढा राखिनुहुन्न । उनीहरूका शारीरिक एवम् मानसिक भाषा र सिकाइसम्बन्धी चुनौती भए पनि उनीहरूका माया र हेरचाहको अधिकार हुन्छ । उनीहरूको सबल पक्ष पहिचान गरी हौसला र उत्प्रेरणा गरेर आत्मविश्वास बढाउनुका साथै क्षमता विकास गर्ने व्यवस्था गर्नु पर्दछ ।
बालबालिकाको कुनै अपाङ्गताप्रति केन्द्रित नभई उनीहरूमा रहेको क्रियाशिलता र सक्षमतालाई पहिचान गरी त्यसैलाई अधिकतम विकास गराउनु पर्दछ ।
शिशु बालबालिकाको अपाङ्गताको अवस्था र विकासात्मक चरण अनुसार उत्प्रेरणा प्रदान गर्नु पर्दछ । कहिले पनि बालबालिकालाई दुर्व्यवहार, हिंसा र अवहेलना गर्नु हुदैन । अपाङ्गता भएका बालबालिकाका लागि उचित शिक्षा र अवसर सुनिश्चित गर्नु पर्दछ । अभिभावकका लागि पनि नेपाल सरकार तथा विभिन्न संघसंस्थाबाट तालिमको पनि व्यवस्था पनि हुने हुँदा त्यस्ता विशेष तालिमले सहयोग पुर्याउँछ । शिशु बालबालिकाको अपाङ्गताको अवस्था अनुसार सम्बन्धित वडा कार्यालय, नगरपालिका, गाउँपालिकाको महिला बालबालिका शाखामा सम्पर्क गरी परिचय पत्र तथा सेवा लिनुपर्दछ ।
(युनिसेफ नेपालले तयार पारेको लेख साभार)