राम्ररी निन्द्रा नलागेकै कारण ‘स्लिपिङ ट्याब्लेट’ चपाउनुपर्ने वाध्यता पनि धेरैलाई छ । राती राम्ररी निन्द्रा नलाग्नु एउटा साझा समस्या बनिरहेको छ । जब तपाई मस्त निदाउन सक्नुहुन्न, शरीर बोझिलो हुन्छ । दिमागले सहि ढंगले काम गर्न सक्दैन । त्यतीमात्र होइन, यसले शरीरमा रोगसमेत निम्त्याउँछ । अनिन्द्राकै कारण उच्च रक्तचाप बढ्छ, मधुमेहको खतरा हुन्छ ।
स्वस्थ्य जीवनका लागि गहिरो निन्द्रा अपरिहार्य छ । एक वयस्क व्यत्तिले दिनमा ७ वा ८ घण्टा सुत्नुपर्छ । तर, कति समय सुत्ने भन्ने भन्ने कुराले त्यसबेला मात्र अर्थ राख्छ, जब त्यो सुताई आरमदायक र गहिरो हुन्छ । गहिरो निन्द्राले मानसिक एवं शारीरिक स्वस्थ्यमा राम्रो प्रभाव पार्छ । यसरी गहिरो निन्द्रा सुतेपछि दिनभर शरीर चंगा हुन्छ । स्फूर्ति बढ्छ । काम गर्न जाँगर चल्छ ।
किन निन्द्रा लाग्दैन ?
निन्द्रासँग जोडिएको केहि समस्या हुन्छ, त्यसमा सबैभन्दा बढी दुई प्रकृतिको देखिन्छ । एक त, कम निन्द्रा लाग्नु। अर्को चाहि मस्त निदाउन नसक्नु । निन्द्रा नलाग्नुको खास कारण मानसिक तनाव नै हो । जब तपाईको मन स्थिर हुँदैन, शान्त हुँदैन निन्द्रा खलबलिन्छ । अधिक मानसिक थकानमा पनि निन्द्रा लाग्दैन । त्यस्तै कतिपय रोग, शारीरिक पीडा, दुखाई आदिले निन्द्रा लाग्दैन।
त्यस्तै सुत्नुअघि गरिने कतिपय गतिविधिले निन्द्रा विथोलिन्छ । गलत खानपान, अपच पनि अनिन्द्राको कारण हो। त्यस्तै त्यहाँको वातावरण, ओछ्यानले समेत सुत्ने कुरामा प्रत्यक्ष असर गर्छ
कसरी पाउने गहिरो निन्द्रा ?
१. गहिरो निन्द्रा पाउनका लागि मूख्यतः मानसिक रुपमा स्वस्थ्य हुनु आवश्यक छ । सुत्नुअघि मनमा कुरा खेलाउने, चिन्ता लिने जस्ता काम गर्नु हुँदैन ।
२. सुतेको बेला आयव्यायको हिसाब लगाउने, पारिवारिक समस्यामा घोत्लिने, नकारात्मक बिचारहरु ल्याउने जस्ता कुराले पनि निन्द्रा विथोलिन्छ । त्यसैले सुत्नुअघि यस्ता विकारयुक्त विचारहरु मनमा ल्याउन हुँदैन ।
३. सुत्नुअघि त्यस्ता कुराहरु सोच्नु हुँदैन, जसले मनलाई दुखित तुल्याउँछ । अक्सर मानिस ओछ्यानमा पल्टिएर मनमा अनेक कुरा खेलाउन थाल्छन, विगतका गल्तीहरु सम्झन्छन, भविष्यका बारेमा कल्पन्छन् । यसले पनि निन्द्रा विथोल्छ । यस्ता कुराहरु सोचेर केहि फाइदा छैन । दिनमा शरीर सक्रिय भएको बेला यस्तो काम गर्नुपर्छ, जसले आफुलाई सन्तुष्ट तुल्याउँछ ।
४. सुत्नुअघि मनलाई स्थिर, खुसी र सन्तुष्ट राख्नुपर्छ । भविष्यको कुरा सोचेर वा विगतका गल्तीहरुमा पछुतो गरेर केहि उपलव्धी छैन भन्ने कुरा बुझ्नुपर्छ ।
५. सुत्नुअघि धेरै खानेकुरा खानु ठीक होइन । यसले पेट भद्दा हुन्छ र राम्ररी निन्द्रा लाग्दैन । अधिक पानी वा झोलयुक्त पदार्थ सेवन गर्दा पनि पिसाब लाग्छ, जसले निन्द्रा विथोलिदिन्छ । सुत्नुअघि हल्का एवं सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ ।
६. सुत्ने र उठ्ने समय तालिका नियमित हुनुपर्छ । निश्चित समय तालिकामा सुत्ने अभ्यास गरिएको छ भने त्यही समयमा निन्द्रा लाग्छ ।
७. शारीरिक रुपमा निस्क्रिय हुँदा पनि राम्ररी निन्द्रा लाग्दैन । त्यसैले दिनमा शारीरिक रुपमा सक्रिय रहनुपर्छ । त्यस्तै व्यायाम गर्नुपर्छ, हिँडडुल गर्नुपर्छ, सानोतिनो घरायसी काम गर्नुपर्छ ।
८. सुत्नुअघि हल्का खानेकुरा सेवन गर्ने, केहि क्षण हिँडडुल गर्ने, हल्का व्यायाम गर्ने, प्रणायाम गर्ने, ध्यान गर्ने जस्ता सिलसिलाबद्ध क्रियाले पनि गहिरो निन्द्रा लाग्छ ।
९. ओछ्यान सजिलो हुनुपर्छ । साथै सुत्ने कोठाको वातावरण प्रतिकुल हुनुहुँदैन । राती चर्को ध्वनी आउने, हल्लीखल्ली हुने जस्ता कुराले पनि निन्द्रा विथोलिन्छ ।
१०। सुत्नुअघि चाखलाग्दो पुस्तक पढ्नुहोस् । मधुरो संगीत सुन्नुहोस् । यसले ध्यान अन्यत्र भंग हुँदैन र निन्द्रा लाग्छ ।