बालबालिकालाई अभिभावकको विशेष हेरचाह आवश्यक हुन्छ । त्यसैले सकेसम्म अभिभावकसँगैको कोठा मिलाउनुपर्छ ।
कोठाको एकैतर्फ धेरै प्रकारका रङ लगाउनु हुँदैन । यस्तो भएमा बालबालिकाको मनिस्थितिमा नराम्रो असर पुर्याउन सक्छ ।
भित्ता सजाउने क्रममा बालबालिकाको इच्छालाई मध्यनजर गर्दै ह्वाइट बोर्ड पनि राख्न सकिन्छ । कुनै भित्तामा उनीहरूले बनाएका आर्टलाई सजाएर राख्दा कोठा आकर्षक देखिन्छ ।
कोठामा विभिन्न कार्टुन तथा प्राकृतिक दृश्य पेन्ट गरी राख्न सकिन्छ । यसले उनीहरूको आत्मविश्वास तथा मनोबल बढाउन मद्दत गर्छ ।
कोठामा प्रयोग गरिने फर्निचर सकेसम्म हलुका रोज्नुपर्छ । जसले गर्दा आवश्यक परेका वेलामा सार्न सजिलो हुन्छ । त्यस्तै, फर्निचर सिसारहित भएमा बालबालिका सुरक्षित हुन्छन् ।
एउटै कोठमा दुई बालबालिकाको बेड राख्नुपरेमा दुवै बेड एकै स्थानमा राख्नुहुँदैन । जोडेर राख्दा उनीहरूको मनोबल कमजोर हुने, समयमै नसुत्नेजस्ता समस्या हुन सक्छ ।
बालबालिकाहरू बढी चकचके हुन्छन् । जसले गर्दा कोठामा राखिएको सामान भद्रगोल हुन सक्छ । त्यसैले कोठमा स्टोर र्याक, प्लास्टिकका बास्केट, डिब्बा, बाकसजस्ता वस्तु प्र्रयोग गरी उनीहरूका सामान व्यवस्थापन गर्न सक्छौँ । बच्चाहरूलाई पनि सोहीअनुसार व्यवस्थापन गर्न सिकाउनुपर्छ ।
कोठा सजाउने क्रममा फर्निचर जरुरी छ भन्दैमा धेरै राख्नुहुँदैन । बालबालिकालाई खेल्न तथा मुभमेन्ट गर्न मिल्ने पर्याप्त स्थान खाली राखेर अन्य सामग्री कोठामा राख्नुपर्छ ।
लाइटिङको पनि विशेष भूमिका हुन्छ । बालबालिकाको आँखा र मस्तिष्कमा असर पुग्ने गरी बत्तीको कलर प्रयोग गर्नुहुँदैन ।
बच्चाको इच्छा, आवश्यकता, अभिभावकको दक्षताले पनि कोठा सजावटमा असर पर्छ । प्राकृतिक वातावरणलाई पनि ध्यानमा राखेर कोठा सजावट गर्दा उनीहरूको शारीरिक, मानसिक अवस्था बलियो हुनुका साथै आत्मविश्वास बढाउन
सहयोग पुग्छ ।