म्याग्दी । १५ वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका जलन विकसँग विवाह गरेकी ३१ वर्षिया सुस्मिता बिकले पाँच सन्तान जन्माइसकेकी छन्।
पहिलो पटक आमा बन्दा उनको उमेर केवल १६ वर्ष थियो। सुस्मिताको कान्छा छोरा अहिले तीन वर्षका छन् । ‘सानै उमेरमा विवाह गर्दा र छिटोछिटो बच्चा जन्माएका कारण पाठेघर खस्ने समस्याबाट पिडित हुनुपरेको छ’, दृष्टिबिहिन सुस्मिताले भनिन्, ‘अहिले श्रीमानले पनि छोडेर जानुभयो । सडकमा गीत गाएर छोराछोरी पाल्नुपरेको छ।’
यसैगरी रघुगंगा गाउँपालिका–३ पिप्लेकी ३१ वर्षीया मनिषा विश्वकर्माले पनि चार सन्तान जन्माइसकेकी छन्। छोरा जन्माउने आशमा परिवार नियोजनका साधन प्रयोग नगरेको उनी बताउँछिन् । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी विक बालबच्चाको पालनपोषण र शिक्षादिक्षामा समस्या भए पनि छोरा नै चाहिने गलत सामाजिक मान्यताका कारण धेरै बच्चा जन्माएको बताउँछिन्।
ताकमकी सुस्मिता र मनिषाजस्तै कम उमेरमा विवाह गर्ने, छिटोछिटो र धेरै बच्चा जन्माउने समाजमा धेरै छन् । शारिरिक तथा मानसिक रुपमा परिपक्क नभई सन्तान जन्माउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने बेनी अस्पतालका प्रमुख चिकित्सक डा. जितेन्द्र कँडेलले बताए।
कानुन अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन। बेनी जिल्ला अस्पतालको पछिल्लो दुई वर्षको अभिलेखमा गर्भ जाँच गराउने, गर्भपतन गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने २० वर्षमुनीका किशोरीको संख्या अत्यधिक छ ।
आर्थिक वर्ष २०७६/७७ मा बेनी अस्पतालमा २० वर्षमुनिका एक सय ४९ किशोरी सुत्केरी भएका थिए। सोही आवमा ३२ किशोरीले बेनी अस्पतालमै औषधि सेवन गरी गर्भपतन गराएकोमा आठ किशोरीको शल्यक्रिया गरी गर्भपतन गराउनुपरेको थियो।
यसैगरी आव २०७७/७८ मा २० वर्षमुनिका एक सय २४ किशोरीले बेनी अस्पतालमा गर्भ परीक्षण गराएकामा ९७ जनाले मात्र सुत्केरी सेवा लिएर आमा बने । सोही अवधिमा ११ किशोरीले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन गराएका मध्ये सात किशोरीको शल्यक्रिया गरिएको थियो।
जिल्लामा बालविवाह नरोकिनुमा चेतनास्तरलाई मात्र कारणको रुपमा हेरिएको छैन । मेलाजात्रा लगाउने सामाजिक परम्परा, गरिबी, इन्टरनेटको बढ्दो कुलत र गलत संगतलाई पनि जिम्मेवार मानिएको छ । जिल्ला प्रहरीमा पछिल्ला दुई आर्थिक वर्षमा एक-एकवटा मात्र बालविवाहका मुद्दा दर्ता भएका छन् ।