काठमाडौं । प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ प्रेम गर्नेका लागि महत्वपूर्ण दिन मानिन्छ । १४ फेब्रअरीमा संसारभर मनाइने यो दिवसमा जोडी खोज्दै गरेका तथा प्रेमप्रस्ताव राख्नेका लागि उत्तिकै महत्व छ।
दुईविपरित लिंगीबीचको मात्र होइन् प्रेम त आमाबुवा, दिदीबहिनी, दाजुभाई, साथीसंगी, परिवार, प्रियजन आदिसँग पनि हुन्छ । यसले मानिसको जीवनमा ऊर्जा भर्छ । कतिपयले भ्यालेन्टाइनका दिन प्रेमप्रस्ताव राख्छन् । यसैकारण यो दिनलाई युवायुवतीले निकै महत्वका साथ लिएको पाइन्छ । ‘भ्यालेन्टाइन डे’ सन् २७० बाट रोम (इटाली) बाट सुरु भएको मानिन्छ । यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग जोडिएको छ ।
उनी रोमन सम्राट् क्लाउडियस द्वितीयले लगाएको प्रेम र विवाहको विरुद्धमा लागे । सम्राटले युवा प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने मान्यता राखेर यसलाई प्रतिबन्ध लगाएका थिए । सम्राट्ले महिलासँगको सम्बन्धका कारण सुरक्षाकर्मीमार्फत गोप्य विषय बाहिर जाने भयले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरेका थिए।
भ्यालेन्टाइन भने सम्राटको उक्त निर्णय धर्मविरुद्ध भएको जिकिर गर्थे । उनले अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वरसमेत खुसी हुने तर्क गर्थे । भ्यालेन्टाइनले राजाको आज्ञालाई मानेनन् र प्रेम र विवाहका लागि प्रेरित गरे ।
उनले युवायुवतीका जोडी तयार पारी सार्वजनिकस्थलमै सामूहिक विवाह कार्यक्रम गरे । राजाको आज्ञा नमानेको भन्दै उनलाई ई.पू. २७० को फेब्रअरी १४ मा मृत्युदण्ड दिइयो । प्रेमका लागि आफ्नो ज्यान दिएका पादरी भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । विश्वभरि यो दिनलाई प्रणय दिवस मनाइन थालियो ।
पछिल्लो समय युवायुवतीमा जर्बजस्ती प्रेम गर्नेको होड नै चलेको देखिन्छ । आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ माया प्रदर्शन गर्नेको होड नै चलेको छ । भ्यालेन्टाइन डेलाई नै गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड बनाउने दिन हो भन्ने फेसन नै चलेको छ । महँगा विलासीका सामग्री आदानप्रदान गर्ने, होटल जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोजमोस्ती गर्नेजस्ता विकृति देखिन थालेको छ ।
भ्यालेन्टाइन डेमा सबैभन्दा रातो रङको गुलाफ धेरै नै आदानप्रदान हुन्छ । यसलाई प्रेमप्रस्ताव स्वीकारेको रुपमा लिने गरिन्छ । रातो रङको गुलाब मित्रता र मुटुको धड्कनको प्रतीकका रुपमा लिइन्छ ।
यो दिनमा रातो गुलाफ दिनुको भनेको ‘मेरो मुटु तिम्रो लागि हो’ भन्ने अर्थ हो । प्रणय दिवस प्रेमजोडीका लागि निकै महत्वपूर्ण दिन भएकाले जोडी खोज्दै गरेका तथा प्रेमप्रस्ताव राख्ने मनसाय बनाएकाका लागि पनि उत्तम साइतको रुपमा लिइन्छ ।
यससँग विभिन्न खाले कथा तथा इतिहास जोडिएका छन् । बेलायती नाटककार शेक्सपियरको नाटक रोमियो एण्ड जुलिएटकी नायिका जुलियटको घरमा हरेक वर्ष भ्यालेन्टाइन डेका दिन हजरौँ चिठीहरु पठाइन्छन् । इटालीको भ्यारोनामा जुलियटको काल्पनिक गाउँ छ ।
दुनियाँभरबाट यो गाउँमा जुलियटलाई सम्बोधन गरी प्रेमपत्र आउँछन् । यस दिन विश्वमा २ लाख २० हजारभन्दा बढी मानिसले बिहेको प्रस्ताव गर्ने गरेको पाइन्छ । तर प्रेमप्रस्ताव गर्नेको संख्या भने यकिन गर्न गरिएको छैन ।
यस्तै, भ्यालेन्टाइन डेमा विश्वमा १ अर्बभन्दा कार्ड आदानप्रदान हुन्छन् । अमेरिकामा मात्रै एक अर्ब डलर बराबरको चकलेट खरिदबिक्री तथा १९ करोडभन्दा बढीको गुलाब किनबेच हुने समाचार आएको पाइन्छ । साथै यस दिन मुटु आकारको साढे ३ करोड चकलेट बक्स बिक्री हुन्छन् ।
गुलाबको फूललाई इटलीको रोममा प्रेमकी देवीको मनपर्ने फूलका रुपमा लिइन्छ । साथै, यस दिनमा गुलाब किन्नेमा सयमा ७३ प्रतिशत पुरुष र अन्य उपहार किन्नेमा सयमा ८५ जना महिला हुन्छन् । यो दिवसमा गुलाबको फूल आफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेमसम्बन्ध राम्रो हुन्छ भन्ने विश्वास रहेको छ । ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउनेको संख्या बढ्दै गएको छ ।