काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमामा देखिएको समस्या एक महिनाभित्र समाधान गरिने बताएका छन्।
विराटनगरमा आइतबार संवाद समूहले आयोजना गरेको संवादको क्रममा उनले बिमा कार्यक्रमको रकम अस्पतालहरुले पाउन नसकेको भन्ने गुनासोको अब अन्त्य गरिने उल्लेख गरे । उनले बिमालाई व्यवस्थित बनाउन रकम उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएका छन्।
कर्मचारी अभावका कारण बिमावापतको रकम अहिले भुक्तानी हुन नसकेको हो,’ खतिवडाले भने, ‘तत्काल कर्मचारी व्यवस्थापन गरेर बिमाको रकम भुक्तानीको वातावरण बनाउँदै एक महिनाभित्र समस्याको समाधान खोजिने छ।’ विराटनगरको कोसी अस्पताल सुधारका लागि भौतिक निर्माणको काम सुरु भइसकेको उनको दाबी छ।
अस्पतालमा बिमालाई व्यवस्थित बनाउन ५० जना जनशक्ति थपिने जानकारी उनले दिए। ‘अस्पतालमा समयसम्म नबस्ने र निजी क्लिनिकतिर जाने समस्या डाक्टरमा छ,’ मन्त्री खतिवडाले भने, ‘तलब दोब्बर गर्दा पनि सुधार नदेखिएपछि कानुनी उपचारतिर जानुपर्ने अवस्था आयो।’ कोसी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा काम सुरु भइसकेको उनको भनाइ छ।
यसैबीच कोसी अस्पतालको भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने र जनशक्ति सम्बन्धी समस्या समाधानका लागि ओएनएमलाई तत्काल पारिने गरी कार्यान्वयन गरिने, स्वास्थ्य बिमामा इन्ट्रिको समस्या रहेकाले तत्काल जनशक्ति व्यवस्थापन गरिने र रोकिएको बिमावापतको रकम तत्काल निकासा गरिने सहमति भएको छ।
सहमतिमा आइसियु बेडसहितको भेन्टिलेटर अभाव रहेकाले अस्पतालले माग गरेमा तत्काल सरकारले भेन्टिलेटरसहितका उपकरणहरु उपलब्ध गराउने पनि उल्लेख छ। प्रदेश अन्तरर्गतका अस्पतालमा देखिएको जनशक्ति समस्या समाधान गर्न प्रदेश सरकारले विशेषज्ञसहितको जनशक्ति लोकसेवामार्फत व्यवस्थापन गर्ने र तत्काल प्रदेशबाट माग भएमा सङ्घीय सरकारले छात्रवृत्तिका चिकित्सक पठाउने प्रतिवद्धता मन्त्री खतिवडाले जनाएका छन्।
कोसी अस्पतालको विकासका लागि दलहरुले माग गर्दै आइरहेका छन्। सामाजिक विकास मन्त्री जयराम यादवले प्रदेश १ का १४ जिल्ला अस्पताललाई सहज रूपमा जनशक्ति व्यवस्थापनको काम अघि बढाइने बताए। ‘अस्पताल स्तरोन्नतिको काम प्रदेश सरकारले थालिसकेको छ,’ उनले भने, ‘जनशक्ति व्यवस्थापन गर्न कानुन निर्माण गरिने छ।’
कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले अस्पताललाई रेफरल सेन्टरका रूपमा विकास गर्नका लागि पूर्वाधार, जनशक्ति, उपकरण र व्यवस्थापकीय पक्षलाई बलियो बनाउन सरकारले सहयोग गर्नुपर्ने बताए। ओएनएम सर्वे कार्यान्वयनमा जाने हो अस्पतालमा एक हजार एक सय ३८ जना जनशक्ति व्यवस्थापन हुने उनले बताए।
पूर्वसामाजिक विकास मन्त्री जीवन घिमिरेले स्तरोन्नतिसहित शिक्षण अस्पताल र कोसीलाई रेफरल सेन्टर बनाउन ओएनएम स्वीकृति हुनुपर्नेमा जोड दिए। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अस्पतालमा आइसियु र भेन्टिलेटरलाई व्यवस्थित गर्न जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए। कोसी अस्पताल सुधार हुँदै गएकाले सरकारको प्राथमिकतामा स्वास्थ्य क्षेत्र परिरहेको पुष्टि हुने उनको भनाइ छ।