काठमाडौं - दाँत मानव शरीरको एक महत्वुर्ण अंग हो । दाँतले खानेकुरालाई टुक्राएर पाचन प्रणालीमा पठाउने काम गर्दछ । दाँँतले सुन्दरतामा पनि प्रभाब पार्दछ । त्यसैले यसको सरसफाईमा बिशेष ध्यान दिनुपर्ने हुन्छ ।
दाँत स्वस्थ्य राख्नका लागी शिशु अवस्थादेखि नै सफा राख्नुपर्छ । आमाको दुधमा चिनिको कण हुन्छ । चिनी अथवा गुलियोलाई क्याभिटीको कारकतत्व पनि मानिन्छ । चिनीमा व्याक्टेरिया हुनाले क्याभिटी हुुन्छ । त्यही क्याभिटीका कारण दाँत किराले खान्छ ।
केहि अभिभाबकले शिशुको दाँत हुदैन भनेर गिजा सरसफाई नगरेको पाइन्छ । तर शिशुलाई हरेक पटक दुध खुवाएपछि नरम कपडा भिजाएर गिजा पुछिदिनुपर्छ । यसो गर्दा इन्फेक्सन हुदैंन र गिजा पनि बलियो भएर जान्छ ।
प्रायः सुगर पानी, गुलियो दूध लगायतका गुलियो पदार्थको लामो सेवन तथा धेरै समयसम्मको सेवनले बच्चाको दाँतमा क्याभिटी उत्पन्न हुन्छ ।
ठूलो मानिसको दाँतमा किरा लाग्दा जति घातक हुन्छ, बालबालिकाको दाँतमा किरा लाग्नु पनि उत्तिकै डरलाग्दो हुन्छ । त्यसको समयमै उपचार नभए गिजा पाक्न सक्छ । त्यसैगरी आँखा सुन्निने, अनुहार सुन्निने लगायतका समस्या देखा पर्न पर्छ । यस्तो बेला एन्टीबायोटिकले मात्र काम नगरी गिजा चिर्नु पर्ने जस्ता जटिलता उत्पन्न हुन सक्छ ।
बालबालिकाको दाँतमा आउनसक्ने समस्या र जटिलताबाट बचाउँनका लागी उमेर समुह अनुसार यसरी सरसफाई गरिदिनुपर्छ ।
दाँत आउनु अगाडि
नरम कपडा तथा सफा पानिले बिहानको पहिलो पटक स्तनपान गराएपछि र सुत्नु अगाडि गिजा पुछिदिनुपर्छ ।
दाँत आएपछि २ बर्षसम्म
नरम शिशु दाँत ब्रश र सफा पानीले बिहान बेलुका २ पटक सफा गरिदिने
२ देखि ३ बर्ष
नरम टुथब्रस र चामलको दाना जति फ्लोरिडेट टुथपेस्टले बिहान बेलुका २ पटक सफा गरिदिने
३ देखि ६ बर्ष
नरम टुथब्रस र केरउको गेडाजति फ्लोरिडेट टुथपेस्टले बिहान बेलुका २ पटक दाँत माझ्न लगाउने गर्नु पर्छ ।