काठमाडौं । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स (प्रणय दिवस वा प्रेम दिवस) डे ।
आजको दिन प्रेम सम्बन्धमा रहेका तथा रहन चाहने नयाँ जोडीका लागि विशेष दिनका रूपमा मानिन्छ । आफूले माया गर्ने मान्छेलाई रातो गुलाफको फूल वा विभिन्न उपहार दिएर प्रेमको प्रस्ताव राख्ने वा प्रेम देखाउने गरिन्छ । नेपालमा पनि विशेषगरी युवापुस्तामाझ भ्यालेन्टाइन्स डे लोकप्रिय हुँदै आएको छ ।
रोज डे, प्रपोज डे, चकलेट डे लगायत गरी फेबुअरी ७ देखि १४ तारिखसम्मको अवधिलाई प्रेम सप्ताहको रूपमा मनाइन्छ । प्रेममा पर्दा स्वास्थ्यमा लाभ हुने गर्छ । प्रेम र स्वास्थ्य अचम्मलाग्दो तरिकामा जोडिएका छन् । मायामा पर्दा मात्र पनि मानिस खुसी हुने गर्छ । यसले सम्बन्ध जोड्नेमात्र नभएर मानिसको स्वास्थ्यमा विभिन्न तरिकाले फाइदा पुर्याउने गरेको अध्ययनहरूले समेत पत्ता लगाइसकेका छन् ।
मायामा परेका जोडी तथा राम्रो वैवाहिक सम्बन्ध भएको जोडी अन्यको तुलनामा बढी स्वस्थ हुने गरेको अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टमा उल्लेख छ । मायामा परेका वा राम्रो वैवाहिक सम्बन्ध भएका जोडीहरू डाक्टरकोमा धेरै जान नपर्ने, घाउ चोट वा रोग लागेमा छिटो निको हुने तथा अस्पतालमा बसाइको समय पनि घट्ने जनाइएको छ ।
मायामा रहनाले प्रतिरक्षा प्रणालीलाई बढावा दिन्छ जसले मानिसलाई पटक(पटक रोग लाग्नबाट जोगाउन सक्छ । अनुसन्धानका अनुसार मायामा परेको जोडी एकअर्काको हेरचाह गर्ने, स्वस्थ रहन उत्प्रेरणा प्रदान गर्छन् । जसकारण स्वास्थ्य, सफा र फिट रहन चासो बढ्ने, स्वास्थ्य खानेकुरा खाने गर्छन् । समयसँगै यस्ता बानीले मानिसमा रोग लाग्ने जोखिमलाई घटाउँदै लान्छ ।
साथै प्रेममा रहेका तथा विवाह गरेर खुसी सम्बन्धमा रहेका जोडीमा एन्जाइटी र डिप्रेसन कम हुनुका साथै उनीहरू कुलतमा पनि फस्ने सम्भावना कम हुन्छ । मानिस प्रेममा रहदा इन्ड्रोफिन्स लगायतका खुसी बनाउने हर्मोन निस्कासन हुने र दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्ने हुदा एन्जाइटी र डिप्रेसन कम हुन्छ ।
राम्रो सम्बन्धमा भएको जोडीले राम्रो तरिकाले तनावलाई व्यवस्थापन गर्न सक्छन् । विशेषगरी प्रेममा परेका युवा वयस्कहरू अत्यधिक रक्सी पिउने र लागुपदार्थको दुर्व्यसन नगर्ने पाइएको छ । अविवाहित वा एकल व्यक्तिको तुलनामा विवाह वा राम्रो सम्बन्ध भएको जोडीको रक्तचाप नियन्त्रित रहने एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित अध्ययनले देखाएको छ ।
मायाले प्राकृतिक तरिकाले पेन(किलरको जस्तो पनि काम गर्छ । यसले टाउको दुखाइ र जिउ दुख्ने समस्या कम हुनुका साथै मायामा परेमा महिलाहरूमा महिनावारीको समस्यासमेत कम हुने जनाइएको छ । राम्रो सम्बन्धमा रहेका जोडी तनावमुक्त रहने कारण विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने र सधै खुसी भइने छ ।