काठमाडौं । आज अन्तर्राष्ट्रिय छारेरोग दिवस ( इन्टरनेस्नल एपिलेप्सी डे) ।
अन्तर्राष्ट्रिय छारेरोगविरुद्धको सञ्जाल (आइएलएई र आइबिई) ले प्रत्येक वर्ष फेब्रुअरी महिनाको दोस्रो सोमबार अन्तर्राष्ट्रिय छारेरोग दिवस मनाउँदै आएको छ । यो वर्ष भ्यालेन्टाइन्स डेको दिन पर्न गएको छ । छारेरोगको बारेमा मानिसमा जनचेतना बढाउनका लागि सन् २०१५ देखि विश्वभर हरेक वर्ष सो दिवस मनाइन्छ।
संसारका धेरै भागहरूमा, छारेरोग भएका मानिसहरू र तिनीहरूका परिवारलाई हेयको दृष्टिले हेरिनुका साथै भेदभाव गरिन्छ । अन्तर्राष्ट्रिय छारे रोग दिवसले आमजनतालाई रोगको बारेमा सत्यतथ्य, यसको उपचार, हेरचाह, र अनुसन्धानमा लगानीको तत्काल आवश्यकताबारे सचेतना जगाउन र शिक्षित गर्न खोज्छ।
विश्वभर करिब पाँच करोड मानिस छारे रोगबाट प्रभावित भएको बताइएको छ । डब्लुएचओको तथ्याङ्कअनुसार उच्च आय भएका देशहरूमा, प्रत्येक वर्ष प्रति एक लाख मानिसहरूमा ४९ जनामा छारेरोग हुने अनुमान गरिएको छ । त्यस्तै निम्न र मध्यम आय भएका देशहरूमा,यो सङ्ख्या प्रति एक लाखमा एक सय ३९ रहेको छ । छारेरोग मस्तिष्कमा हुने नसर्ने रोग हो जसले सबै उमेरका मानिसहरूलाई असर गर्छ।
दिमागमा लाग्ने चोट, ट्युमर, सङ्क्रमण, मस्तिष्कघातका कारण छारेरोग हुने गर्छ । बच्चाहरूमा जन्मजात दिमागको विकास राम्ररी नहुँदा, बच्चाको तौल कम हुँदा, मस्तिष्कमा अक्सिजनको कमी, जिनमा समस्या भएमा पनि छारेरोगका लक्षण देख्न सकिन्छ । यसका अनेक किसिमका लक्षण हुन्छन् ।
मस्तिष्कमा गडबडी पहिलो पटक कहाँबाट सुरु हुन्छ र यो कतिसम्म फैलिन्छ भन्ने कुरामा छारेरोगमा देखिने लक्षण निर्भर गर्छ । सिजर हुने, शरीर काम्ने, छटपटाउने, चेतनाको कमी, हिँड्न गाह्रो हुने, हेराइ, स्वाद र सुन्ने क्षमतामा असर पुग्ने, डुडमा समस्या, जन्मजात रोग देखिने छारेरोगका केही लक्षणहरू हुन्।