एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट निको भइसकेपछि पनि बिरामीलाई हृदयाघात, स्ट्रोक र हर्ट फेलियरको जोखिम हुने अध्ययनले देखाएको छ।
अमेरिकामा गरिएको अनुसन्धानले यो जोखिम सङ्क्रमणको कुनै लक्षण नदेखिएका मानिसहरूमा पनि हुन सक्ने दाबी गरेको छ । युनिभर्सिटी अफ वासिङ्टनका वैज्ञानिकहरूले एक वर्षभन्दा बढी समयसम्म कोरोनाबाट पीडित एक लाख ५० हजार बढी मानिसको स्वास्थ्य ट्र्याक गरेका छन्।
सो तथ्याङ्कलाई कहिले पनि कोरोना भाइरसको सङ्क्रमण नभएको ५६ लाखभन्दा बढी मानिसहरूसँग तुलना गरिएको थियो । वैज्ञानिकहरूले कोरोना सङ्क्रमण भएको ३० दिनभित्र निको भएका बिरामीहरूमा हर्ट स्ट्रोकको जोखिम एक दशमलव पाँच गुणा बढी रहेको पत्ता लगाएका छन्।
यसबाहेक, हर्ट अट्याकको जोखिम एक दशमलव ६ गुणा र हर्ट फेलियरको जोखिम एक दशमलव सात गुणाले बढेको पाइयो । यसबाहेक यस्ता बिरामीमा मुटुको धड्कन अनियमित हुने जोखिम एक दशमलव ६ गुणा र मुटु पोल्ने जोखिम दोब्बर हुने अध्ययनले देखाएको छ।
सङ्क्रमण भएका बिरामीको शरीरको नसहरूमा रगत जम्ने समस्याको जोखिम दुई गुणा बढी हुन्छ। यसले मुटुको नसालाई पनि ब्लक गर्न सक्छ । अनुसन्धानमा हृदय रोगको जोखिम सबै उमेर, लिङ्ग तथा मोटोपना, मधुमेह, रक्तचाप लगायतका स्वास्थ्यमा समस्या भएका मानिसमा समान रहेको पाइयो।
एक पटक कोरोनाबाट सङ्क्रमित भाइसकेका मानिस सधैँ हृदयरोगको जोखिममा रहने अध्ययनको निष्कर्ष रहेको छ । तर, यो जोखिम उच्च वा कम हुनेछ भन्ने कुरा सङ्क्रमणको गम्भीरतामा निर्भर हुने दैनिक भास्करमा उल्लेख छ ।