काठमाडौं । नेपालका विभिन्न ठाउँका कुखुरा फार्महरूमा बर्ड फ्लू एच फाइब एन वानु देखिन थालेको छ।
एच फाइब एन वान भाइरस मानिसबाट मानिसमा सहजै नसर्ने देखिएको भए पनि पक्षीको प्रत्यक्ष सम्पर्कमा आउनेहरू भने उच्च जोखिममा हुन्छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ज्वरो आउने, सास फेर्न गाह्रो हुने, थकान, घाँटी, पेट र मांसपेशी दुख्ने, खोकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने, निमोनिया हुने सङ्क्रमित व्यक्तिमा देखिने बर्ड फ्लुका लक्षणहरू हुन्।
बर्ड फ्लुको रोकथाम र नियन्त्रण गर्नका लागि पक्षीहरू पालिएको खोरलाई सधैँ सफा राख्ने, समय-समयमा निःसङ्क्रमण गर्ने, खोरहरू सफा गर्दा आफ्नो व्यक्तिगत सुरक्षाका निम्ति मास्क, बुट र पन्जा लगाउने तथा खोर सफा गरिसकेपछि वा पक्षीहरूको सम्पर्कमा पुगेपछि साबुनपानीले मिचिमिची हात धुने गर्नुपर्छ ।
सङ्क्रमण भएको खण्डमा चिकित्सक वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न जरुरी हुन्छ। सङ्क्रमित व्यक्तिले आइसोलेसनमा बस्ने, जथाभावी र जतिबेला आफ्नो आँखा, नाक र मुख छुन नहुने, हाच्छ्यूँ गर्दा कुहिना, रुमाल वा टिस्यू पेपरको प्रयोग गर्ने गर्नुपर्छ । साथै, प्रयोग गरिएको टिस्यू पेपरलाई उचित स्थानमा व्यवस्थापन गर्न जरुरी हुने मन्त्रालयले जनाएको छ ।